काठमाण्डु – ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आउनेक्रम जारी छ । ७ दिनदेखि जारी मत गणनामा अहिलेसम्म ५ सय ५७ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
पछिल्लो परिणाम अनुसार कांग्रेसले २ सय ४९ स्थानमा जित हासिल गरेको छ भने उसले ७२ ठाउँमा अग्रता लिएको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले एक उपमहानगर सहित १ सय ५९ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ ।
उसले ४० ठाउँमा अग्रता लिएको छ । यस्तै माओवादी केन्द्रले एक उपमहानगर जित्दै १ सय ४ ठाउँमा जित हासिल गरेको छ भने १३ स्थानीय तहमा अग्रता लिएको छ ।
चौथो स्थानमा रहेको जनता समाजवादी पार्टीले १३ ठाउँको प्रमुख जित्दा १९ ठाउँमा अग्रता लिएको छ । पाँचौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले १३ ठाउँमा जितेको छ । समाजवादी पोखरा महानगर र हेटौंडा उपमहानगरमा अगाडि रहँदै अन्य ३ ठाउँमा अग्रस्थानमा छ ।
यसैगरी ७ ठाउँमा बागी र स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले काठमाण्डु महानगरमा एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै दोब्बरले अघि छन् ।
जनमोर्चाले चार ठाउँमा जितेको छ । यस्तै राप्रपाले २ ठाउँमा जित निकाल्दा २ ठाउँमा अग्रता लिएको छ। त्यसै गरी सिके राउतको पार्टी जनमत पार्टीले २ ठाउँमा जित निकालेको छ । रेशम चौधरीको पार्टी नागरिक जनमुक्तिले २ ठाउँमा जित निकाल्दा २ ठाउँमा अगाडि छ ।
महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टीले १ ठाउँमा जित निकाल्दा १४ ठाउँमा अग्रता लिएको छ । यस्तै हृदयश त्रिपाठीको पार्टी तराइ–मधेश लोकतान्त्रिक पार्टीले १ ठाउँमा जित निकालेको छ ।
यसैगरी नेपाल मजदुर किसान पार्टीले १ ठाउँमा जितेको छ । नारायणमान बिजुक्छेले नेतृत्व गरेको यो पार्टीले भक्तपुरमा भारी मतान्तरले विजयी भएको हो । यस्तै विवेकशील साझा पार्टीले एक ठाउँमा अग्रता लिएको छ । उसले अहिलेसम्म खाता खोल्न सकेको छैन् ।
स्थानीय निर्वाचनमा ६५ दलका उम्मेदवार र स्वतन्त्र सहित १ लाख ४५ हजार जना चुनावी मैदानमा छन् । ती मध्येबाट ७ सय ७३ स्थानीय तहमा ३२ हजार २ सय २१ जनप्रतिनिधि चुनिने छन् । निर्वाचन आयोगको तथ्यांक अनुसार हालसम्म झण्डै २७ हजार जनप्रतिनिधि चुनिएका छन् ।




प्रतिक्रिया