स्थानीय सरकारलाई इसाई समाजले गर्‍यो ५ लाख सहयोग

स्थानीय सरकारलाई इसाई समाजले गर्‍यो ५ लाख सहयोग

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – सुर्खेतका ख्रिस्टियनको छाता संगठन इसाई समाज सुर्खेतले स्थानीय सरकारलाई ५ लाख ३० हजार ४०० रुपैयाँ सहयोग गरेको छ । कोभिड–१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रण र समस्यामा परेकाको राहत तथा उपचारका लागि भनेर समाजले सुर्खेतका ७ वटा स्थानीय तहमा सहयोग गरेको हो ।

इसाई समाजका सुर्खेतका अध्यक्ष रेभ पास्टर पद्म गैरे नेतृत्वको टोलीले नगरपालिकाको विपद् कोषमा जम्मा गरेको २ लाख १० हजार ५०० रुपैयाँ रकम भौचर बुधवार वीरेन्द्रनगर नगरपालिकाका कार्यबाहक प्रमुख मोहनमाया ढकाललाई हस्तान्तरण गरेको छ ।

सो भौचर ग्रहण गर्दै कार्यवाहक प्रमुख ढकालले संकटका बेला सरकारको सहयात्री भएर हिँड्ने समाजको नेतृत्वप्रति हार्दिक कृतज्ञता प्रकट गरे । ‘यो हाम्रा लागि अमूल्य सहयोग हो । यसको उचित उपयोग, व्यवस्थापन तथा परिचालन गरिनेछ,’ उनले भने, ‘वीरेन्द्रनगर नगरपालिकाले पनि यो अकल्पनीय संकटको समाधानका लागि विभिन्न योजना बनाएर अघि बढेको छ ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले चर्च, मन्दिर, मस्जिदलगायत धार्मिकस्थलमा भएका भोका, समस्या परेकाहरु भए तिनको विवरण दिएर सहयोग पुर्‍याउन समाजलाई अनुरोध गरे । उक्त विवरणका लागि सरकारलाई सहयोग गर्ने भन्दै समाजका अध्यक्ष गैरेले चर्चले विपन्न, गरिब, समस्यामा परेका र केही अपाङ्गता भएका नागरिकलाई चर्चले सहयोग गर्दै आएको बताए ।

समाजले सु्र्खेतका अन्य स्थानीय सरकारमा लेकबेसी नगरपालिकालाई ६८ हजार, गुर्भाकोट नगरपालिकालाई ६५ हजार ९००, भेरीगंगा नगरपालिकालाई ६० हजार र पञ्चपुरी नगरपालिकालाई ५१ हजार सहयोग गरेको उनले जनाए । त्यसैगरी, बराहताल गाउँपालिकालाई ५० हजार र चौकुने गाउँपालिकालाई २५ हजार रुपैयाँ सहयोग गरिएको उनको भनाइ थियो । अध्यक्ष गैरेका अनुसार मानवीयता बचाउन र सामाजिक दायित्व पुरा गर्ने ध्येयले सरकारलाई सुर्खेतका ३१ चर्चको सामूहिक सहयोग भएका छन् ।