स्थानीय तहमा ९३९ जनप्रतिनिधि रिक्त


काठमाडौं – देशभरका ७५३ स्थानीय स्थानीय तहमा ९३९ जनप्रतिनिधिको पद रिक्त छ । १७५ वडामा दलित महिला सदस्य पदमा उम्मेदवारी नै नपरेकाले सिट खाली छन् । यस्तै, कोही जनप्रतिनिधिको निधन भएको र कोही जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि स्थानीय तहमा धेरै पद खाली भएको हो ।

निर्वाचन आयोगका अनुसार कुनै तहमा प्रमुखदेखि कुनैमा सदस्यसम्म जनप्रतिनिधि छैनन् । कुल तीन तहका प्रमुख, ३६ वडाध्यक्ष, ८६१ वडा सदस्य र ३९ कार्यपालिका सदस्यको पद खाली रहेको आयोगले जनाएको छ । ०७४ को वैशाख, असार र असोजमा तीन चरणमा भएको स्थानीय तह निर्वाचनमा ३५ हजार जनप्रतिनिधि निर्वाचित भएका थिए ।

तीन तह प्रमुख र १३ वडाध्यक्षको मृत्यु
तीन स्थानीय तहका प्रमुखको निधन भएको छ । मेयर तारा सुब्बाको गत १ साउनमा निधन भएपछि सुनसरीको धरान उपमहानगरपालिका नेतृत्वविहीन छ । यस्तै, गत २६ माघमा अमरकुमार नेम्वाङको निधनपछि पाँचथरको फाल्गुनन्द गाँउपालिकाका अध्यक्षविहीन छ । ३० पुस ०७४ मा संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालको पनि जिप दुर्घटनामा निधन भएको थियो । विभिन्न स्थानीय तहका १३ वडाध्यक्षको पनि निधन भएको छ ।

उपनिर्वाचन कहिले हुन्छ ?
खाली रहेका सांसद र स्थानीय तहका प्रमुख र वडाध्यक्षको उपनिर्वाचनको टुंगो लाग्न सकेको छैन । गत पुसमा संघीय संसदको राज्य व्यवस्था समितिले रिक्त स्थानमा बैशाखभित्र निर्वाचन गराउन सरकार र निर्वाचन आयोगलाई निर्देशन दिएको थियो । तर, अहिलेसम्म उपनिर्वाचनका विषयमा छलफल भएको छैन ।

निर्वाचन अयोगले वडाध्यक्षको उपनिर्वाचन गराउन कानुनी अड्चन रहेको बताउँदै आएको थियो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ को उपदफा २ मा अध्यक्षरउपाध्यक्ष र प्रमुख÷उपप्रमुखको उपनिर्वाचन गराउन पर्ने व्यवस्था भएपनि रिक्त वडाध्यक्षको उपनिर्वाचनमा ऐन मौन थियो । यो समाचार आजको नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement