लकडाउनमा अपराधका एक हजार घटना

लकडाउनमा अपराधका एक हजार घटना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको बन्दाबन्दी (लकडाउन)ले शनिबार २६ दिन पार गरेको छ । सरकारले सङ्क्रमितको सङ्ख्या बढेसँगै बन्दाबन्दी कडाइ पार्दै लैजाने निर्णय गरेको छ ।

बन्दाबन्दी अवधिभर अपराधका घटनामा भने कमी देखिएन । २६ दिनको अवधिमा करिब एक हजार अपराधका घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कर्तव्य ज्यान, आत्महत्या, सामाजिक तथा आर्थिकसँग सम्बन्धित अपराध बढी भएका छन् । सिङ्गो मुलुक बन्दाबन्दीमा भए पनि चैत ११ देखि वैशाख ३ गतेसम्म ज्यान सम्बन्धी दुई सय ८३, आत्महत्या दुई सय ५३, सामाजिक तथा आर्थिक अपराध एक सय ३३, चोरी २२, सङ्गठित ९५, महिला तथा बालबालिका सम्बन्धी ८८, सवारी ३७ र विविध ५६ वटा अपराधका घटना भएका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले बन्दाबन्दीमा अपराध घटेको दाबी गर्नुभयो । एकै दिनमा हजारभन्दा बढी अपराधका घटना हुन्थे, बन्दाबन्दीले घटायो । सबै घरभित्र बन्दाबन्दी भएकाले पनि अपराधका घटनामा कमी आएको भनाइ उहाँको छ । उहाँले ‘बन्दाबन्दी’मा अपराध शून्यमा झरेको अपेक्षा नागरिकको छ तर त्यस्तो हुँदैन चोरी, डकैती, लुटपाट, दुर्घटना र सङ्गठित अपराधका घटनामा नियन्त्रण आए पनि अन्य घटना सामान्य रूपमा देखिएका छन्, जबर्जस्ती करणी र महिला हिंसाका घटना बढी देखिएका छन् भन्नुभयो ।

प्रदेश अनुसार सबैभन्दा बढी अपराधका घटना प्रदेश–२ मा दुई सय २५, प्रदेश–१ मा एक सय ६०, प्रदेश–५ मा एक सय ५९, काठमाडौँ उपत्यकामा एक सय ४४, गण्डकी प्रदेशमा एक सय चार, प्रदेश–३ मा ७७, कर्णाली र सुदूरपश्चिम क्रमशः ५६÷५७ रहेका छन् । नेपाल प्रहरीले मुद्दा नै दर्ता गरी आवश्यक कानुनी कारबाही प्रक्रिया सञ्चालन गरेका ज्यान सम्बन्धी अपराध अन्तर्गत कर्तव्य ज्यान १५, ज्यान मार्ने उद्योग २२, भवितव्य ज्यान एक सय ५४, गौवध एक, आत्महत्या दुरुत्साहन सात र फुटकर ज्यान ८४ घटना उल्लेख गरिएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।