लकडाउनका बीच जलविद्युत् आयोजना निर्माण शुरु

लकडाउनका बीच जलविद्युत् आयोजना निर्माण शुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी- कोरोना भाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण रोकिएको म्याग्दीका जलविद्युत् आयोजनाहरु करिब तीन सातापछि निर्माण शुरु भएका छन् । स्थानीय प्रशासन, सुरक्षा निकाय, जनप्रतिनिधि, समुदाय र ठकेदार कम्पनीसँग समन्वय गरी सुरक्षाका उपाय अपनाएर करिब दुई सातापछि जलविद्युत् आयोजना निर्माणलाई अघि बढाइएको हो ।

निर्माण सामग्री, उपकरण, इन्धन र मजदुर भएका जलविद्युत् आयोजना निर्माणलाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । ‘मजदुर र सामग्री भएका आयोजनालाई सञ्चालन गराएका छौँ’, उनले भने, ‘निर्माण सामग्री र कच्चा पदार्थ आयातका लागि प्रदेश र सङ्घीय सरकारमा पहल गरेका छौँ ।’ उहाँका अनुसार ४० मेगावाट क्षमताको राहुघाट, ४२ मेगावाट क्षमताको मिस्त्रीखोला र १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माणलाई निरन्तरता दिइएको छ । दुई सय २० केभी क्षमताको दाना सवस्टेशन र प्रसारण लाइन आयोजनाले पनि रोकिएको कामलाई निरन्तरता दिन लागेको छ ।

नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको सवस्टेशन र प्रसारण लाइन वैशाख महिनाभित्र चार्ज गर्ने तयारी छ । स्थानीय सरोकारवाला र समुदायको सहमतिमा आयोजनाको काम सञ्चालन गरिएको प्राधिकरणद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक रघुगङ्गा हाइड्रोका प्रशासकीय अधिकृत मदन गिरीले जानकारी दिए । भारतीय ठेकेदार कम्पनी जयप्रकाश (जेपी) एशोसिएट्सका ५०० मजदुर आयोजनामा परिचालित छन् । चैत ११ देखि करिब तीन हप्तासम्म आयोजनाको काम रोकिएको थियो । काम नहुँदा मजदुर क्याम्पमा बसेका थिए ।

‘मजदुर, उपकरण र निर्माण सामग्री भएकाले समुदायमा असर नपुग्ने गरेर सुरक्षा सतर्कता अपनाएर काम अघि बढाएका हौँ’, रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले भने, ‘प्रशासन, सुरक्षा निकाय, गाउँपालिका, ठेकेदार र समुदायसँग समन्वय गरेका छौँ ।’ अन्नपूर्ण गाउँपालिकाको नारच्याङ स्थित ११० मेगावाट क्षमताको निलगिरि र निलगिरि क्यासकेट, ४२ मेगावाटको मिस्त्री, १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माणाधीन छन् । रघुगङ्गा गाउँपालिकामा ३७.५ मेगावाटको राहुघाट मङ्गले जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण भइरहेको छ ।