लकडाउनमा जबर्जस्ती गर्न खोज्ने १६ पक्राउ

लकडाउनमा जबर्जस्ती गर्न खोज्ने १६ पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले १६ जनालाई नियन्त्रणमा लिएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले आजदेखि लागू गरेको एकहप्ते ‘लकडाउन’ उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुमध्ये १० जनालाई सम्झाइबुझाइ छाडिएको छ भने छ जनालाई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाइएको छ । गुरुङका अनुसार जिल्लाका विभिन्न ठाउँमा गरिएको चेकजाँचका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । आइन्दा सवारी नचलाउने प्रतिबद्धता जनाएकालाई छाडिएको छ भने जबर्जस्ती गर्न खोज्नेलाई प्रशासन पठाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार घटनाको प्रकृति हेरेर उनीहरुमाथि कारवाही हुनेछ । मुलुकबन्दको जिल्लावासीले सकारात्मक रुपमा लिएर सहयोग गरेका छन् । बिहानपख सर्वसाधारण सडक देखिएपछि सरोकारवालाले भिडियो सन्देश र सन्देशमार्फत घरबाहिर ननिस्कन आह्वान गरेका थिए ।

कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार र नेपाली काँगे्रसका जिल्ला सभापति जितनारायण श्रेष्ठले सन्देश प्रवाह गर्दै सरकारले आह्वान गरेको लकडाउनमा सहयोग गरिदिन आह्वान गरेका थिए । उनीहरुको सन्देशमा सरकारको निर्देशनलाई सबैले पालन गरेमा रोग भित्रिनबाट रोक्न सकिने जनाइएको छ ।