काठमाडौं – सरकारले छिमेकी मुलुकहरुमा कोरोना भाइरसको जोखिमको अवस्था हेरेर लक डाउनका खोल्ने विषयमा निर्णय हुने बताएको छ ।
अर्थ र सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले विश्व कोरोना महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम नेपालमा पनि रहेकाले लकडाउन खोल्ने निर्णय एकपक्षीय रुपमा गर्न नसकिने बताएका हुन् ।
सरकारका प्रवक्ता डा. खतिवडाले छिमेकी मुलुकहरुमा कोरोना नियन्त्रण र जोखिमको अवस्था हेरेर लक डाउन खोल्ने/नखोल्ने विषयमा निर्णय हुने बताए ।
‘छिमेकी मुलुकहरुमा यसको नियन्त्रणको अवस्था कस्तो छ । जोखिमको अवस्था नहेरी एकपक्षीय ढंगले निर्णय गर्ने अवस्था रहँदैन’, उनले भने ।
लुकिछिपी नेपाल आउनेहरुका कारण पनि नेपालमा कोरोना संक्रमणको जोखिम बढेको बताए । प्रवक्ता खतिवडाले छिमेकी मुलुकमा कोरोना रोकथामको प्रयास र नेपालमा स्वास्थ्य उपचारको पूर्व तयारी, स्वास्थ्य परीक्षणका विधिहरु, उपकरण तथा स्वास्थ्यकर्मी अवस्थालाई ध्यानमा राखेर लक डाउन खुल्ने बताए ।
चारवटा जिल्लामा पुनः नापजाँच:
त्यस्तै सरकारले चारवटा जिल्लामा पुनःजाँच गर्ने निर्णय गरेको छ । प्रवक्ता डा. खतिवडाले गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नवलपरासी बर्दाघाट सुस्ता पश्चिम् र दाङ जिल्लाको छुट जग्गा नापजाँचका लागि सम्बन्धित जिल्लाका नापी कार्यालयहरुलाई खटाउने निर्णय गरेको छ ।
यस्तै मुस्ताङ र काभ्रेपलान्चोक जिल्लाको जग्गा पनि पुनः नापजाँच गर्ने निर्णय सरकारले गरेको छ । बैठकले विद्युतसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृत दिने निर्णय पनि गरेको छ ।
विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १० करोड अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय भएको छ, भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मालपोत कार्यालयको संगठन समरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।




प्रतिक्रिया