काठमाण्डु – लोकसेवा आयोगले कोरोना संक्रमित परीक्षार्थीका लागि विवादास्पद निर्णय गरेको छ ।
लोकसेवाले ‘संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७’ जारी गर्दै परीक्षार्थीहरुका लागि निश्चित मापदण्ड लागू गरेको छ ।
मापदण्डको बुँदा नम्बर ८ मा संक्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न प्रतिबन्ध लाग्ने भनिएको छ । त्यस्तै लोकसेवामा संलग्न परीक्षार्थीले आफूलाई कोरोना संक्रमण भए÷ नभएको आफैंले घोषणा गरे पुग्ने बताइएको छ ।
‘परीक्षार्थी आफू कोभिड–१९ को संक्रमणबाट संक्रमित भए÷नभएको स्वयंले घोषणा गर्नुपर्नेछ । संक्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न हुने छैन’, ८ नम्बर बुँदामा भनिएको छ, ‘ (२) आयोगबाट सञ्चालन हुने प्रयोगात्मक÷सीप परीक्षण सम्बन्धी परीक्षा, अन्तर्वार्ता, सामुहिक छलफल, प्रस्तुतीकरण लगायतका कार्य सञ्चालन गर्दा समेत स्वास्थ्य सुरक्षासँग सम्बन्धित विषयमा यस मापदण्डको पालना गर्नुपर्नेछ ।’
त्यस्तै आयोगले सरकारद्वारा कोभिड—१९ संक्रमण सम्बन्धी जारी जनस्वास्थ्य मापदण्ड तथा यस मापदण्डको पालना गर्नु परीक्षामा खटिने जनशक्ति, परीक्षा केन्द्र, विद्यालय÷कलेज, विद्यार्थी तथा सम्बन्धित सबैको कर्तव्य हुने बताएको छ ।
परीक्षा संचालनको क्रममा संक्रामक रोग नियन्त्रण तथा रोकथामसँग सम्बन्धित सरकारवाट जारी गरिएका सबै मापदण्डहरु पालना गर्नु पर्ने आयोगले जनाएको छ ।
त्यस्तै परीक्षा सञ्चालनको लागि परीक्षामा खटिने जनशक्तिलाई आवश्यक पर्ने सुरक्षा सामग्रीहरु (मास्क, सेनिटाइजर, ग्लोब्स, साबुन, फेस सिल्ड आदि) आयोग र आयोग अन्तर्गतका कार्यालयले उपलब्ध गराउनु पर्ने मापदण्डमा उल्लेख गरिएको छ ।
परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि उम्मेदवार स्वयम्ले कम्तिमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको अनिवार्य व्यवस्था गर्नुपर्ने आयोगले जनाएको छ ।
कोरोना संक्रमित परीक्षार्थीलाई परीक्षाबाट बञ्चित गराउने निर्णय गरेको भन्दै विद्यार्थीहरुले आपत्ति जनाएका छन् । उनीहरुले संक्रमित भए छुट्टै कोठा अथवा सम्भव भए अनलाइनमार्फत परीक्षा गर्ने व्यवस्था गर्न आयोगलाई आग्रह गरेका छन् । त्यस्तै पूर्वसचिव भीव उपाध्यायले आयोगको यस्तो निर्णय ब्यक्तिको कानुनी र संवैधानिक हकबिरूद्ध हुने जानकारी दिए ।
पूर्वसचिव उपाध्यायले लोकसेवाले कोरोना संक्रमितहरूलाई अलग्गै राखेर परीक्षा लिने ब्यवस्था मिलाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
‘आयोगले कोरोना संक्रमितहरूलाई अलग्गै राखेर परीक्षा लिने ब्यवस्था मिलाउनुपर्छ । कि परीक्षा स्थगित गरोस् वा अनलाईन परीक्षा लिने बैकल्पिक ब्यवस्था गरियोस् । तर कसैलाई कुनै संक्रमणका कारणबाट बन्चित कदापी गरिनु हुदैन र गर्न पनि पाईदैन’, उनले भनेका छन् ।




प्रतिक्रिया