लोकसेवाको आवेदन जारी, अन्तिम निर्णय अदालतबाट


काठमाडौं – संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले आह्वान गरेको भर्ना रद्द गर्न दिएको निर्देशनपछि समेत आवेदन लिने क्रम नरोकिएको लोकसेवा आयोगले जनाएको छ ।

आयोगका अनुसार बुधबारसम्ममा झन्डै १ लाखको आवेदन परेको छ । आयोगको बुधबार ५ बजेसम्मको तथ्यांकअनुसार ९६ हजार ८३८ जनाको आवेदन दर्ता भएको छ । आवेदन दिनेमध्येमा समावेशीतर्फका विभिन्न समूहतर्फ समेत उत्साहपूर्वक आवेदन दर्ता भएको देखिएको छ ।

बुधबार साँझसम्म महिलामा २४ हजार २५०, जनजातितर्फ ११ हजार ५३८, मधेसीतर्फ ५ हजार ३४७, दलितमा ६ सय ९५, अपांगमा ५० र पिछडिएका क्षेत्रतर्फ २९ जनाको आवेदन परेको छ । यसबापत १ करोड ७१ लाख ९ हजार ४५० राजस्वसमेत संकलन भइसकेको लोकसेवा आयोगले जानकारी दिएको छ ।

यसैबीच सर्वोच्च अदालतले आयोगको विज्ञापन रद्द गर्न अन्तरिम आदेश माग गर्दै परेको रिटमाथि तत्काल अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई बोलाएर अन्तिम निर्णय दिने भएको छ । लोकसेवा आयोगले ३ असारमा सर्वोच्च अदालतको निर्णय आउने भएकाले निर्णय नआएसम्म पर्खने जनाएको छ । आयोगले यसअघि बैठक बसेर निर्णय लिने बताएको थियो ।

तर, यससम्बन्धी विवाद सर्वोच्चमा परेकाले विवादको निरूपण सर्वोच्च अदालतबाटै हुने आयोगको भनाइ छ । ‘यस विषयमा अब आयोगमा बैठक बस्नुपर्ने अवस्था रहेन,’ आयोगका एक पदाधिकारीले राजधानीसँग भने । अदालतको निर्णय नै अन्तिम हुने भएकाले बैठक बस्न नपर्ने ती अधिकारीको भनाइ छ । यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement