काठमाडौं – लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदहरुमा गरेको खुला विज्ञापनमा अन्तिम दिन ४ लाख १८ हजार ४७ जनाको आवेदन परेको छ ।
दरखास्त दिन दिइएको समयसीमाको अघिल्लो दिनसम्म ४ लाख १८ हजार ४७ जनाले आवेदन बुझाइ सकेको आयोगका सूचना अधिकारी उपसचिव देवीप्रसाद सुवेदीले जानकारी दिए ।
स्थानीय तहका लागि पहिलोपटक गरिएको विज्ञापनमा सबैभन्दा बढी आवेदन पुरुष उम्मेदवारकोतर्फबाट परेको छ । आयोगका सूचना अधिकारी सुवेदीका अनुसार, हालसम्म ३ लाख १८ हजार ६ सय ४७ आवेदन पुरुषको तर्फबाट मात्रै परेको छ ।
पुरुषको तुलनामा महिलाको आवेदन भने निकै कम छ । ९९ हजार ४ सय महिलाले मात्रै असार १६ गतेसम्म आवेदन बुझाएका छन् ।
समावेशीतर्फ भने आदिवासी जनजाति आवेदन बुझाउनेको पहिलो नम्बरमा छन् । आयोगका अनुसार, आदिबासी जनजातितर्फबाट ४१ हजार ८ सय ७ आवेदन परिसकेको छ । त्यस्तै मधेसीबाट २३,४४९, दलितबाट २,९७०, अपांगबाट १३७ र पिछडिएको क्षेत्रबाट ११३ जनाले स्थानीय तहको सेवा प्रवेशमा रुचि देखाउँदै आवेदन दिएका छन् ।
आयोगले गत जेठ १५ मा स्थानीय तहका प्राविधिक र अप्राविधिक पदहरुमा ९१६१ कर्मचारी माग गर्दै विज्ञाजन खुलाएको थियो । अनलाइन प्रणालीमा समस्या आएपछि आयोगले दोब्बर दस्तुर तिरेर दरखास्तका लागि आज असार १७ गतेसम्मको समय थपेको थियो । आवेदन दिने म्याद असार १७ गते राति १२ बजेसम्म रहेको छ ।




प्रतिक्रिया