काठमाण्डु – बेलायतमा देखिएको नयाँ प्रजातिको कोरोना भाइरस अहिले नेपालसहित विश्वभर फैलिँदो क्रममा छ । गत डिसेम्बर २८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट फर्किएका पाँच जनामा नयाँ प्रजातिको भाइरस फेला पारेको सूचना सार्वजनिक गरेसँगै नेपालमा पनि नयाँ प्रजातिको भाइरसको प्रवेश गरेको तथ्य पुष्टी भयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जना मध्ये पाँचजनामा सङ्क्रमण पुष्टि भएको बताएको हो । यस्तै छिमेकी मुलुक भारतमा पनि नयाँ कोरोना भाइरसबाट संक्रमण हुने दर उच्च रहेको पाइएको छ । नेपालसँगको खुला सीमानाका कारण नेपालमा यसको प्रत्यक्ष असर देखिने जनस्वास्थ्य क्षेत्रका विज्ञहरुले बताएका छन् । नेपालले समयमा आवश्यक सुरक्षा सतर्कता अपनाएर सीमामा थप कडाई गर्नुपर्ने उनीहरुको सुझाव छ ।
सरकारले विद्यालय मठमन्दीर, सार्वजनिक सवारी साधन, सार्वजनिक स्थलहरु सबै खुला गरिसकेको छ । त्यस्तै सरकारी कार्यालयमा लगाइएको आलोपालो नियम पनि हटाइएको छ भने सवारी साधनमा लगाइएको जोरविजोर प्रणाली पनि हटाइएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले नयाँ भाइरस लागेकाहरुमा ज्वरो र रुघा लाग्ने लक्षण देखिएको बताए । मन्त्रालयले विदेशबाट आएका सबैलाई अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टाइनमा बस्ने नियम लगाएकाे छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ भाइरस देखिएपछि बेलायतबाट हुने उडान बन्द गरिएको जानकारी दिए ।
प्रवक्ता गौतमले पोष्टिक तत्वयुक्त खाना खाने, घाममा बस्ने, दिउँसो व्यायाम गर्ने (जाडोमा मर्निङ वाक नगर्नु राम्रो), तनाव नलिने, राति ८–९ घण्टा सुत्ने, मौसमी फलफूल खाने गर्नाले रोग प्रतिरोधात्मक क्षमता बढ्ने सुझाव दिए । उनले नयाँ प्रजातीको कोरोना भाइरसका लागि छुट्टै मापदण्ड नहुने भएकाले यसअघिकै मापदण्ड अपनाउन सके यो भाइरसबाट बच्न सकिने बताए ।
‘यसका लागि छुट्टै मापदण्ड छैन् । नियमित हात धुने, सेनिटाइजर प्रयाग गर्ने, भीडभाडमा नजाने, सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने गर्दा यो भाइरसबाट बच्न सकिन्छ’, उनले काठमाण्डुपाटीसँग कुरा गर्दै भने, ‘यसको उपचार विधि, यसको लक्षण सबै एउटै हो । नयाँ र पुरानो भाइरस भन्ने हुँदैन । यो लक्षणसहितको अलिक कडा हुन्छ । त्यति मात्र फरक छ । यसको छुट्टै उपचार विधि छैन् ।’
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी कोभिड–१९ को विकसित रुप नै नयाँ प्रजातिको भाइरस रहेको बताए । ‘भाइरस परिवर्तन हुन्छन् । त्यस्तै कोभिड–१९ भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो’, उनले भने, ‘कोभिड–१९ जस्तै यसको लक्षण हुन्छ । यसको सर्ने क्षमता भने अलि बढी नै छ । थप अध्ययन हुन बाँकी छ ।’ उनले कोभिड–१९ जस्तै यसले पनि फोक्सोमा असर गर्ने बताए ।
जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमान्न सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत भाइरसको स्वरूप परिवर्तन अर्थात म्युटेसन हुने क्रममा बेलायतमा स्वरूप परिवर्तन भएको कोरोना भाइरसको नयाँ प्रजाति देखिएको भन्दै डर नमान्न सुझाव दिएका हुन् ।
डा.पाण्डेले पुरानो कोरोना भाइरसभन्दा यो नयाँ प्रजातिको भाइरस ७० प्रतिशतभन्दा बढी सर्न सक्ने बताएका छन् । पुरानो भाइरस कुनै समुदायमा एक हजार जनामा फैलिँदा यो भाइरस भने ७० प्रतिशतभन्दा बढी अर्थात् १७०० जनालाई संक्रमण गराउन सक्ने बताएका छन् ।
उनले मास्क सहि तरिकाले अनिबार्य रुपमा लगाउने, भीडमा नजाने, भौतिक दुरी कायम गर्ने, बन्द कोठामा भेटघाट र बैठक नगर्ने तथा हातलाई नियमित रुपमा धुने वा स्यानिटाइज गर्ने लगायत सहि तरिकाले स्वास्थ्यका मापदण्ड अपनाइए यो भाइरस फैलिए पनि नसर्ने बताएका छन् ।
‘यो भाइरसको मृत्युदर हामीकहाँ भएको कोरोना भाइरसको मृत्युदर भन्दा कम रहेको जनाइएको छ । आम सर्वसाधारणमा नयाँ खतरा भाइरस आयो भन्ने जुन हल्ला चलाइएको छ, त्यो सत्य होइन । यो सर्ने तरिका, यसका लक्षण, उपचार, रोकथाम तथा खोप एउटै हो’, उनले भने, ‘अन्य व्यक्तिसँग भेट्दा मास्क सही तरिकाले अनिवार्य रूपमा लगाउने, भीडमा नजाने, भौतिक दूरी कायम गर्ने, बन्द कोठामा भेटघाट र बैठक नगर्ने तथा हातलाई नियमित रूपमा धुने वा स्यानिटाइज गर्ने हो भने यो भाइरस फैलिए पनि सर्दैन ।’
राजनीतिक दलको सभा कोरोना सार्ने मुहान !
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको विभाजनपछि देखिएको राजनीतिक अस्थीरताले कोरोना संक्रमणमा थप सहयोग पुग्ने देखिएको छ । विभाजनपछि सडक संघर्ष, कार्यकर्ता भेला, पार्टीका बैठकहरुबाट कोरोना संक्रमण सार्न सहयोगी बन्न सक्ने देखिएको छ । विभाजनपछि केपी शर्मा अोली समूह र प्रचण्ड–माधव नेपाल समूह छुट्टाछुट्टै रुपमा संगठन विस्तारमा व्यस्त छन् ।
उनीहरुले साँघुरो कोठाभित्र धेरै कार्यकर्ता भेला पारेर कार्यक्रम गरिरहेका छन् । नेकपाका दुवै समूहले जिल्ला जिल्लामा कार्यकर्ता भेला र प्रशिक्षणहरु चलाइरहेका छन् । नेकपा प्रचण्ड–माधव नेपाल समूहले सरकारले प्रतिनिधिसभा विघटनविरुद्धमा चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका राजनीतिक दलका शीर्ष नेतृत्वले नै आन्दोलनमा सहभागी हुन अपिल गरिरहेका छन् ।
त्यस्तै नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र राजावादीहरुले पनि सरकारविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । प्रवक्ता गौतमले यस्ता किसिमका भेला र सभाले संक्रमण दर बढाउन थप सहयोग पुग्ने जानकारी दिए । उनले सडक, बजार, पसल, होटल, रेस्टुँरालगायतका क्षेत्रमा भिडभाड बढेकाले थप सावधानी अपनाउन जरुरी रहेको बताए ।




प्रतिक्रिया