काठमाण्डु-बेलायतको राजधानी लन्डनस्थित नेपाली दूतावासमा २६२ औँ नेपाली सेना दिवस मनाइएको छ । त्यस अवसरमा ब्रिटिस सेनापति चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकर प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए ।
त्यस्तै बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, लन्डनस्थित मित्र राष्ट्रका सैनिक सहचारीहरू, सरकारी अधिकारीहरू, सैनिक अधिकृतहरू, सञ्चारकर्मी र बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि लगायत करिब डेढसय अतिथिहरूको कार्यक्रममा सहभागिता थियो ।
नेपाली दूतावासको इतिहासमै बेलायती सेनापतिको उपस्थिति भएको सम्भवतः यो नै पहिलोपटक हो । सम्बोधनका क्रममा प्रमुख अतिथि तथा ब्रिटिस सेना प्रमुख जनरल सर रोली वाकरले नेपाली सेना र ब्रिटिस सेनाबिचको स्थायी सम्बन्धमाको बारेमा खुसी व्यक्त गरे । उनले नेपाली सेनाले देखाएको अटल समर्पण, वफादारी र व्यावसायिकताको प्रशंसा गर्दै भविष्यमा थप सहकार्य र सहयोगलाई निरन्तरता दिने पनि प्रतिबद्धता व्यक्त गरे ।
राजदूत घिमिरेले नेपाली सेनाको गौरवशाली इतिहास र स्थायी विरासतको बारेमा चर्चा गर्दै नेपालको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डताको रक्षा र राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धनमा नेपाली सेनाको महत्त्वपूर्ण योगदानमा जोड दिए । मानवताको बृहत्तर हितको सेवा गर्ने नेपाली सेनाको अटल प्रतिबद्धतामाथि प्रकाश पार्दै घिमिरेले बेलायती सेनामा सेवा गर्ने गोर्खाहरूको अद्वितीय परम्परामाथि पनि प्रकाश पारे ।




प्रतिक्रिया