लोसपाको महाधिवेशन वैशाखमा हुने, केन्द्रीय कार्यसमिति तयारी समितिमा परिणत

लोसपाको महाधिवेशन वैशाखमा हुने, केन्द्रीय कार्यसमिति तयारी समितिमा परिणत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मौजुदा केन्द्रीय कार्य समितिलाई केन्द्रीय महाधिवेशन तयारी मूल समितिमा परिणत गरेको छ ।

भदौ १९ र २० गते काठमाण्डुमा पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी बैठकले आगामी वैशाख २६ गते केन्द्रीय महाधिवशेन आयोजना र त्यसका लागि कात्तिक मसान्तभित्र सदस्यता अभियान सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले संविधान संशोधनका लागि विगतमा उठाइएका मधेशका सबै मुद्दाको संकलन गर्दै मधेशी, थारु र अन्य उत्पीडित जनताका अधिकार कायम गराउन सबै दलसँग सहकार्यका लागि अपिल गर्ने निर्णय गरेको अध्यक्ष ठाकुरले जानकारी दिए ।

लोसपाले संविधान संशोधनको एजेण्डा तय गर्न वरिष्ठ नेता लक्ष्मणलाल कर्णको संयोजकत्वमा दानबहादुर विश्वकर्मा र परमेश्वर साह सदस्य रहने गरी ३ सदस्यीय कार्यदल बनाएको छ ।

बैठकले बृहत राजनीतिक शक्ति अभियान निर्माणमा सहकार्य गरेका सबै व्यक्ति र शाक्तिलाई पार्टीमा गोलबन्द हुन आह्वान समेत गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिणाम खस्किँदै गइरहेकामा चिन्ता व्यक्त गर्दै लोसपाले विषयगत शिक्षकको आभाव र समय सापेक्ष पाठ्यक्रम नभएका कारण नतिजा खस्केको निष्कर्ष निकालेको छ । पार्टीले विषयगत शिक्षकको नियुक्ति तथा समय सापेक्ष सीपमुलक पाठ्यक्रमको निर्माण गर्न सरकारसँग माग गरेको छ ।

मधेश प्रदेश लगायत अन्य जिल्लामा बालिनाली सुक्खाग्रस्त भएकाले किसानलाई अल्पकालीन र दीर्घकालीन व्यवस्थापन गर्न सरकारसँग माग गर्ने निर्णय गरिएको अध्यक्ष ठाकुरले जानकारी दिए । लोसपाले ऊखु किसानले हालसम्म नेपाल सरकारबाट पाउनुपर्ने अनुदान प्राप्त गर्न नसकेकाले तत्काल अनुदान निकासको लागि माग गरेको छ ।