काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्स क्रिकेट टिमले याङ्गोलाई आफ्नो मुख्य प्रायोजक (टाइटल स्पोन्सर) घोषणा गरेको छ ।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले याङ्गोलाई टीमको टाइटल स्पोन्सरका रूपमा स्वागत गर्दै यस सहयोगले नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘युवाहरूमाझ लोकप्रिय कम्पनी याङ्गोलाई हाम्रो टीमको टाइटल स्पोन्सरका रूपमा स्वागत गर्न पाउँदा अत्यन्त खुसी छौं । उत्कृष्टता, नवीनता र विश्वव्यापी दृष्टिकोणमा हाम्रो र याङ्गोको सोच मिल्छ । नेपाली क्रिकेटको जोश, गौरव र सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन हामीले याङ्गोलाई उत्कृष्ट सहयात्रीका रूपमा रोजेका हौं ।’
याङ्गो नेपालका प्रतिनिधिले पनि क्रिकेटप्रतिको आफ्नो समर्थन व्यक्त गर्दै भने, ‘क्रिकेट नेपालमा सबैको प्रिय खेल हो । यसले देशलाई एकताको सूत्रमा बाँधेको छ । लुम्बिनी लायन्ससँगको सहकार्यले हामीलाई गर्व लागेको छ र टीमलाई एनपीएलका लागि शुभकामना दिन्छौं ।’
याङ्गो ग्रूप दुबईस्थित अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हो, जसले विश्वभरका नवप्रवर्तनलाई स्थानीय समुदायका आवश्यकता अनुसार दैनिक जीवनका सेवामा रूपान्तरण गर्छ । कम्पनीका सेवामा मोबिलिटी, नेभिगेसन, डेलिभरी, फुडटेक, मनोरञ्जन र कृत्रिम बौद्धिकता (एआई) सहायक समेत समावेश छन् ।
लुम्बिनी लायन्सका मार्की खेलाडी नेपाली राष्ट्रिय टीमका कप्तान रोहितकुमार पौडेल हुन् । टीमले आगामी एनपीएलका लागि तीव्र तयारी गरिरहेको छ । मंसिर १ गतेदेखि (मध्य नोभेम्बर) कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने लिगका लागि टीम अहिले फ्लडलाइट अन्तर्गत एक्स्ट्राटेक ओभलमा प्रशिक्षण गरिरहेको छ ।




प्रतिक्रिया