काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जीत निकाल्दै लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ ।
बिहीबारको विजेता लुम्बिनीले अब उपाधिका लागि साविक उपविजेता सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ ।
यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगरविरुद्ध ७७ रनको जीत निकाल्दै लगातार दोस्रोपटक फाइनल यात्रा तय गरेको थियो ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा लुम्बिनीले दिएको १३५ रनको सामान्य लक्ष्य पछ्याए पनि विराटनगर १७.५ ओभरमा ९४ रनमै समेटियो । विराटनगरलाई सस्तैमा समेट्न लुम्बिनीले प्रयोग गरेका ५ मध्ये पाँचै बलरले विकेट लिए । तिलक भण्डारीले ३ विकेट लिए । ४ ओभरमा तिलकले ३.७५ को इकोनोमीसहित १५ रन मात्र खर्चिएका थिए ।
अभिषेश गौतम, जेजे स्मिथ र रुबेन ट्रम्पेलमनले समान २ विकेट लिए भने शेर मल्लको नाममा १ विकेट रह्यो ।
विराटनगरका साम हेजलेटले सर्वाधिक ३४ रन बनाए । उनले २८ बलमा २ चौका र २ छक्का प्रहार गरे । नरेन भट्टले २१ र मर्चेन्ट डी लांगेले १७ रन थपे । विराटनगरका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।
ओपनरद्वय मार्टिन गप्टिल र फाफ डू प्लेसिसले क्रमश: २ र ३ रन मात्र जोडे । तेस्रो क्रमका ब्याटर लोकेश बम ‘गोल्डेन डक’ भए, शंकर रानाले ७ रन थपे । बसिर अहमेद र कप्तान तथा मार्की सन्दीप लामिछाने समान ३ रनमा पभेलियन फर्किए । प्रशितक जिसीको नाममा २ रन बन्यो ।
टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रनको योगफल खडा गरेको थियो ।
लुम्बिनीका ओपनर डार्सी शर्टले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ३० बलमा २ चौका र २ छक्कासहित ३४ रन थपे । यी दुवैले ८–१ को स्थितिबाट ६९ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ सम्हालेका थिए । तर ११.२ ओभरमा ७७–२ को स्थितिबाट लुम्बिनी २७ रन जोड्दा १६ ओभरमा १०४–६ को स्थितिमा पुगेको थियो ।
निरोसान डिकवेलाले २२ बलमा ४ चौकासहित २९ रन जोडे । रुबेन ट्रम्पेलमनले ११ रन बनाए । लुम्बिनीका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । सन्दीप जोरा र जेजे स्मिथले ‘डक’ भए । दीलिप नाथ र दीनेश अधिकारी पनि समान १ रनमा पभेलियन फर्किएका थिए ।
विराटनगरका स्पिनर सुवास भण्डारीले ३ विकेट लिए । ४ ओभरमा उनले ३.५० को इकोनोमीसहित १४ रन मात्र खर्चिए । ४ ओभर बलिङ गरेका प्रतिश जिसीले २७ रन खर्चिंदै ३ विकेट लिए । कप्तान सन्दीप लामिछानले ४ ओभरमा १८ रन खर्चिएर २ विकेट लिए ।
प्रतियोगितामा विराटनगरले लिग चरणमा दोस्रो स्थान हासिल गर्दै प्लेअफ यात्रा तय गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल सुदूरपश्चिम र लुम्बिनीबीच मंसिर २७ गते हुनेछ ।




प्रतिक्रिया