काठमाण्डु – लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले राजीनामा दिएका छन् । पदको दुरुपयोग गरेको निष्कर्षसहित लुम्बिनी प्रदेश सरकारले कारबाहीको तयारी गरिरहेको बेला सोमबार उनले विज्ञप्ति नै जारी गरेर राजीनामा दिएका हुन् ।
लुम्बिनी प्रदेश सरकारकै गौरवको आयोजना मानिएको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि आह्वान गरिएको ७ अर्बको टेण्डर विवादित भएपछि रद्द गरिएको थियो । अस्पतालको टेन्डरमा राज्यलाई नोक्सान पर्ने गरी कार्यविधि बनाएको भन्दै ठेकेदार कम्पनीहरुले विरोध गरेपछि यो विषय बाहिरिएको थियो । लगत्तै प्रदेश प्राधिकरण आयोजनाका कार्यकारी निर्देशक (सीईओ)घिमिरेले राजीनामा दिएका हुन् ।
सरकारका प्रवक्ता तिलकराम शर्माले घिमिरेले टेन्डर प्रक्रियामै त्रुटि गरेकाले उनीमाथि सरकारले कारबाहीको तयारी गरेका बेला आफू चोखो बन्नका लागि राजीनामा दिएको बताए । उनले भने, ‘लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का निकाल्ने, टेण्डरको प्राविधिक रूपले जाँचबुझ गर्ने जिम्मेवारी सीईओकै हो । त्यसमा प्राविधिक रूपमा त्रुटि पाइएपछि रद्द गर्ने र अगाडि बढ्न आदेश दिइएको थियो । आफु त्यसबाट उम्किनका लागि उहाँले राजीनामाको नाटक गर्नुभएको हो ।’
घिमिरेले आफ्नो पदीय हैसियत भुलेर आर्थिक रूपमा बार्गेनिङ गर्ने, सरकारको नाम जोडेर कमिसन नपाएसम्म काम अगाडि नबढाउने लगायतको काम गरेको मन्त्री शर्माले आरोप बताए । भवन निर्माणका लागि आह्वान गरिएको ठेक्का कुनै दुई कम्पनीमात्र छनोट गर्ने गरी स्पेसिफिकेसन तयार गरेर प्रक्रियामै सेटिङ गरेको रहस्य बाहिर आएसँगै प्रदेश पूर्वाधार विकास प्राधिकरणले टेण्डर रद्द गरेको जनाएको छ ।
करिब ७ अर्ब रुपैयाँ लागतमा बन्ने बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि गरिएको टेन्डर सोमबार नै रद्द गरिएको प्राधिकरणले जनाएको छ । विवादित टेण्डरबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ भने उच्च अदालत दाङमा व्यवसायीहरुले मुद्दा दायर गरेका छन् । त्यस्तै प्राधिकरणले आह्वान गरेको ठेक्कामा रमेश शर्माको निर्माण कम्पनी शर्मा र रसुवा जेभी मात्र सहभागी भएका थिए ।




प्रतिक्रिया