काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीसँग आज छलफल गर्दैछन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायणसहित ९ जना मन्त्रीहरूसबै काठमाडौं आएका छन् । प्रधानमन्त्री ओलीले उनीहरूलाई विशेष निर्देशन दिने कार्यक्रम तय भएपछि मुख्यमन्त्री आचार्यसहित ९ जना मन्त्री काठमाण्डौं आएका हुन् ।
प्रदेशको विकास र संघीयता कार्यान्वयनका विषयमा छलफल गर्न ओलीले प्रदेशका सबै मन्त्रीलाई काठमाडौं बोलाएका जनाइएको छ ।
सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाका अनुसार संघीयता कार्यान्वयन र विकासलाई गति दिने विषयमा प्रधानमन्त्रीले केही निर्देशनात्मक कुराहरू राख्ने कार्यक्रम तय भएको छ ।
लुम्बिनी प्रदेशमा एमालेका मुख्यमन्त्रीसहित पाँच र कांग्रेसका चार जना मन्त्री छन् ।
कांग्रेसबाट मन्त्री छान्ने विषयमा बढेको किचलोका कारण लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन ।
१२ मन्त्रालय रहेको प्रदेशमा अहिलेसम्म मुख्यमन्त्रीसहित ९ जना मात्रै मन्त्री रहेका छन् । साउन ७ गते मुख्यमन्त्री बनेका आचार्यसहित ९ मन्त्रीले शपथ लिएका थिए । सोही दिन नेपाली कांग्रेसबाट मन्त्री बनेर सरकारमा पार्टीको नेतृत्व गर्न लागेका प्रमुख सचेतक जन्मजय तिमिलसिनालाई शपथपूर्व पाटीबाटै रोकिएपछि किचलो बढेको हो ।
पार्टीको संस्थापन समूहमा रहेका तिमिलसिनालाई इतर समूहमा रहेका प्रदेश अध्यक्ष अमरसिंह पुनसहितको नेतृत्वबाट तीव्र दवाव आएपछि रोकिएको थियो । त्यसपछि पनि साउन १८ गते मन्त्रीहरूले पनि कार्यविभाजन पाउने र कांग्रेसबाट पुनः जन्मजयलाई सरकारमा पठाउने तयारी गरिए पनि पुनः उनलाई रोकिएको छ ।
एमाले कांग्रेस गठबन्धन गर्दा नै मुख्यमन्त्रीसहित ५ मन्त्रालय एमाले र ५ मन्त्रालय कांग्रेसले पाउने र पहिलो दिन नै सरकारलाई पूर्णता दिने समझदारी गरेका थिए । तर अहिलेसम्म रोकिएको छ ।
अहिलेको गठबन्धनमा रहेर सरकारमा जान जनमत, लोसपा, जसपा, जसपा नेपाल, नागरिक उन्मुक्ति सबै तयारी छन् तर मन्त्रालय जम्मा दुई वटा मात्रै छन् ।
मन्त्री भूमिश्वर ढकालका अनुसार तीन मन्त्री थप्न बाँकी छ भने कांग्रेसबाट नाम टुंगो लागेको छैन ।
सरकारले पूर्णता नपाएसँगै तीन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आचार्य आफैले राखेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अहिले मुख्यमन्त्रीसँग छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आफ्नो पार्टीको कोटामा परेको थप एक जना मन्त्री टुङ्ग्याउन कुनै समस्या नभएको दाबी गरे ।




प्रतिक्रिया