काठमाण्डु – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ बुधबार बिहान ८ बजे हुने भएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बिहान ८ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिए ।
मुख्यमन्त्रीको शपथग्रहण गर्नुअघि नै ११ वटै मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी चलिरहे पनि सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र एमाले दुवैले मन्त्रीहरूको नाम टुंग्याउन सकेका छैनन् ।
एमाले प्रमुख सचेतक तुलसी चौधरीले मन्त्री क–कसलाई बनाउने भन्ने टुंगो नलागेको जानकारी दिए । त्यस्तै कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारमा कांग्रेसका तर्फबाट कसले नेतृत्व गर्ने र क–कसलाई मन्त्री बनाउने भन्ने बारेमा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल पछि मात्रै टुंगो लाग्ने जानकारी दिए ।
अहिलेसम्म लुम्बिनीमा कुन–कुन पार्टीले कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगो लाग्न सकेको छैन । चौधरीले सुरूमा एमालेले पाँच जना र कांग्रेसले पाँच जना मन्त्रालय पाउने गरी सहमति भएको भए पनि साना दलहरूलाई पनि एक–एक मन्त्रालय दिने छलफल भए पनि कसले कति मन्त्रालय पाउने भन्ने टुंगो नलागेको जानकारी दिए । लुम्बिनी सरकारमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्रालय छन् ।
अन्तिम समयमा आएर संसदीय दलका नेता लीला गिरीलाई हटाइ उपनेता आचार्यलाई मुख्यमन्त्री बनाएपछि एमाले भित्र असन्तुष्टि बढेको छ ।
पछिल्लो असार १७ गते राति नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा नयाँ सत्तासमीकरण निर्माण गर्ने सहमति पछि असार २० गते लुम्बिनी सरकारबाट एमाले बाहिरिएको थियो। त्यसपछि अहिलेका मुख्यमन्त्री आचार्यको नेतृत्वमा एमालेका पाँच मन्त्रीले राजीनामा बुझाएका थिए।
स्पष्ट अल्पमतमा परे पनि असार मसान्तका कारण केही समय रोकिएर नेकपा माओवादी केन्द्रका दलका नेता जोखबहादुर महराले साउन ६ गते पदबाट राजीनामा बुझाएका थिए।
त्यसपछि नेकपा एमालेका केन्द्रीय सदस्य तथा लम्बिनीका संसदीय दलका उपनेता आचार्य सोमबार बेलुकी मुख्यमन्त्री नियुक्त भएका हुन्।
प्रदेशको सबै भन्दा ठूलो दल एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी कुल ५६ सांसदको समर्थनमा आचार्यले सोमबार अपराह्न ४ बजे मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । त्यसको केही बेरमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।




प्रतिक्रिया