समाचार

लुम्बिनी गुरुयोजनाको ८२ प्रतिशत काम पूरा

– निरा गौतम

dish home

रुपन्देही – गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीको व्यवस्थित रुपले विकास गर्न तयार पारिएको गुरुयोजनाको ८२ प्रतिशत काम पूरा भएको छ । लुम्बिनी विकास कोषले आगामी तीन वर्षभित्र गुरुयोजनामा समेटिएका सबै काम सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

विश्वका सम्पूर्ण धर्मावलम्बीका लागि पवित्रतम र आकर्षक गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएको यस गुरुयोजनाले एक हजार १५५ बिघा क्षेत्रफल जमीन ओगटेको छ । लुम्बिनीको तीन वर्ग माइल जमीनलाई उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र र नयाँं लुम्बिनी ग्राम गरी तीन भागमा विभाजन गरिएको छ ।

तीन वर्ग माइल भू–भागलाई एक–एक वर्ग माइलमा विभाजन गरी उत्तरतर्फको एक वर्ग माइल क्षेत्रलाई लुम्बिनी ग्राम र मध्यभागमा रहेको दोस्रो खण्डको एक वर्ग माइलको भू–खण्डलाई शैक्षिक, सांँस्कृतिक तथा अन्तर्राष्ट्रिय विहार तथा गुम्बा क्षेत्र भनी नामकरण गरिएको छ । बाँकी एक वर्ग माइलको दक्षिणतर्फको क्षेत्रलाई पवित्र उद्यान भनिएको छ । बुद्धले पहिलो पाइला टेकेको स्थान भएकाले पवित्र उद्यानलाई गुरुयोजनाले सर्वाधिक महत्व दिएको छ ।

कोषले गुरुयोजनाअनुसार सबै काम पूरा भएपछि लुम्बिनी स्वर्गको टुक्रा जस्तै सुन्दर, शान्त र पवित्र स्थलको रुपमा विकास हुने दावी गरेको छ । यसका लागि गुरुयोजनाका बाँकी सबै काम एकैचोटि सक्ने गरी करीब ६ अर्बको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरिएको हो । कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईका अनुसार बोलपत्र आह्वान गर्नु पूर्व त्यस्ता संरचनाहरुको योजना, डिजाइन र लागत अनुमान तय गर्न अन्तर्राष्ट्रिय स्तरको परामर्शदाता छनोट गर्ने प्रकृया शुरु गरिएको छ ।

केही दिनभित्रै परामर्शदाता छनोट गरी अन्तर्राष्ट्रिय बोलपत्रमार्फत तीन वर्षभित्र गुरुयोजना सक्ने योजना कोषको छ । सबै संरचनाहरुको सुपरीवेक्षणसमेत परामर्शदाताले गर्नेछ । त्यसो हुँदा कोषले गुरुयोजनामा आफ्नो जनशक्ति लगाउनुपर्ने छैन । त्यसको सट्टा गुरुयोजनाअन्तर्गत सुन्दरता बढाउने काममा माक्रै जनशत्ति परिचालन गर्ने तयारी कोषले गरेको छ । आगामी तीन वर्षभित्र सुन्दरता समेत थपेर लुम्बिनीलाई संसारकै पवित्र र नमूना आध्यात्मिक पर्यटकीय स्थलको सबैका रुपमा विकास गर्ने लक्ष्यसहित आफूहरुले काम गरिरहेको कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बताए ।

पवित्र उद्यान क्षेत्र
लुम्बिनी गुरुयोजनाले शाक्यमुनि गौतम बुद्धले पहिलो पाइला टेकेको स्थान पवित्र उद्यानलाई प्राथमिकतामा राखेको छ । यो उद्यान क्षेत्रलाई चारैतिरबाट पोखरीबाट घेरिएको छ । यो पोखरीलाई ‘सर्कुलर लेबी’ भनिएको छ । वरिपरि नीलो पानीले घेरिएको सुन्दर बगैंचाको परिकल्पना यहाँ गरिएको छ ।

गोल पोखरीभित्र मायादेवी मन्दिर, पवित्र कुण्ड, अशोक स्तम्भ, पुरातात्विक महत्वका भग्नावशेषहरु, प्राचीन लुम्बिनीग्रामका अवशेषहरु मात्र रहने गरी कुनै पनि नयांँ निर्माणका काम गर्न रोक लगाइएको छ । उत्तर पश्चिमबाट आउने बाढीको पानी पवित्र क्षेत्रभित्र पस्नबाट रोक्न गोलाकार नहरहरु बनाइएको हो । यस पवित्र क्षेत्रलाई विश्व सम्पदा समितिको सन् १९९७ डिसेम्बर १–६ सम्म भएको सभाले विश्व सम्पदा सूचीमा समावेश गरेको थियो ।

उद्यानका ४१ प्लटहरुमध्ये तीन वटा मात्र तयार भएका छन् । बाँकी सबै प्लटलाई यसै वर्षदेखि सुन्दर पार्ने योजना छ । पवित्र उद्यान क्षेत्रमा गुरुयोजनाअनुसार निर्माण गर्ने ठूला संरचनाहरु करिब करिब सम्पन्न भएका छन् । उद्यानलाई परिक्रमा गरेको पोखरी सफा गर्ने काम बाँकी छ । अहिलेको पोखरीलाई दोब्बर बढाएर घाँस तथा झारहरु उम्रिन नमिल्ने गरी सफा गर्ने र पोखरी वरिपरिको भिरालो जमीनमा दुबो, फूल तथा छहारी दिने स–साना रुख रोप्ने काम शुरु भएको छ । पोखरीका विभिन्न पाँच स्थानमा पानीका रङ्गिन फोहोराहरु बनाउने योजना समेत रहेको उपाध्यक्ष भिक्षु मेत्तेयले बताए ।

आकर्षक विहार क्षेत्र

पवित्र उद्यान क्षेत्रबाट उत्तरतर्फ रहेको अन्तर्राष्ट्रिय गुम्बा क्षेत्रलाई पूर्वी र पश्चिमी विहार क्षेत्र गरी दुई भागमा विभाजन गरिएको छ । यी दुई क्षेत्रलाई शान्तिदीपबाट शुरु भएको केन्द्रीय नहरले दुई अलग अलग भागमा छुट्याएको छ । यो क्षेत्रमा थेरवादी विहार, महायानी, बज्रयानी विहार, स्तूप तथा ध्यान केन्द्रहरु निर्माण गर्ने लक्ष्यका साथ विभिन्न विहार र गुम्बाका लागि ४३ वटा प्लट छुट्याइएका छन् । त्यसैले यसलाई सानो बौद्ध संसार पनि भनिन्छ ।

यसभित्र पूर्वी विहार क्षेत्रमा थेरवादी बौद्ध सम्प्रदायका १३ मध्ये नेपाल लगायत ७ मुलुकका आकर्षक विहारहरु निर्माण भइसकेका छन् । पश्चिमी विहार क्षेत्रमा महायानी सम्प्रदायका २९ मध्ये २१ मुलुकले आफ्नो संस्कृति झल्कने आकर्षक विहारहरु बनाइसकेका छन् । ती मध्ये केही विहारहरु निर्माणाधीन छन् । बाँकी मुलुकहरुले निर्माणको काम थालेका छैनन् ।

यसरी विहार बनाउने मुलुकहरुमा पूर्वतर्फ श्रीलङ्का, मान्मार, थाइल्याण्ड, कम्बोडिया, क्यानडालगायत छन् भने पश्चिमतर्फ चीन, सिंगापुर, जापान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, भियतनामलगायतका मुलुक छन् । संयुक्त राज्य अमेरिका लगायतका केही मुलुकले विहार बनाउने तयारी गरेको कोषले जनाएको छ ।

नयाँ लुम्बिनीग्राम

लुम्बिनी गुरुयोजनामा बाँडिएका प्रमुख तीन वटा क्षेत्रहरु बुद्धको दर्शन तथा उपदेशलाई प्रतिविम्बित गर्ने मात्र हैन भौतिक एवं वातावरणीय रुपमा संरक्षण गर्ने अभिप्रायले समेत तयार गरिएका छन् । योजनाबद्ध रुपमा विकास भइरहेको तीन वर्ग माइलमध्येको उत्तर तर्फको एक वर्ग माइल क्षेत्रलाई नयाँ लुम्बिनीग्राम नामकरण गरिएको छ । गृहस्थ जीवनमा आवश्यक पर्ने सबै प्राविधिक परियोजनाहरु समावेश गरिएको क्षेत्रलाई नव लुम्बिनी ग्राम भनेर बुहत् गुरुयोजनामा समावेश गरिएको छ । तीर्थयात्री तथा पर्यटकहरुलाई आवश्यक भौतिक सुविधा पुर्‍याउने संरचनाहरु यो क्षेत्रमा निर्माण गर्ने लक्ष्य राखिएको छ ।

नयाँ लुम्बिनीग्राम क्षेत्रमा कतिपय संरचनाहरु बनेर सञ्चालनमा आइसकेका छन् । तथापि, थुप्रै महत्वपूर्ण संरचनाहरु बन्न बाँकी छन् । गुरुयोजनाले लुम्बिनी ग्राम क्षेत्रमा चार किसिमका विश्राम गृह बनाउने प्रस्ताव गरेको थियो । एक सय शय्याको सबै सुविधायुक्त विलासी होटल, १५० शय्याको मध्यमस्तरको सुविधायुक्त होटल, २०० शय्याको साधारण आवासगृह र चार वटा क्याम्पिङ निर्माण गर्ने योजना बनाइएको थियो जसमध्ये तीन स्तरका होटलहरु सञ्चालनमा छन् । क्याम्पिङ निर्माणको काम भने बाँकी छ ।

विकास कोषको खर्च विवरण अनुसार लुम्बिनी गुरुयोजनाभित्र विहार क्षेत्रमा सबैभन्दा बढी रु एक अर्ब ३८ करोड ८२ लाख ८८ हजार खर्च भएको छ । बार्‍हवटा विहार नेपालले निर्माण गरेको छ । सबैभन्दा बढी आकर्षक मानिने चीन र जर्मनीका विहार निर्माणका लागि ती मुलुकहरुले ५२ करोड ८० लाख लगानी गरेका छन् । अर्को मुलुक थाइल्याण्डले १० करोड २५ लाखको लागतमा विहार बनाएको छ । विहार क्षेत्रमा अझै २२ करोड जति लगानी हुने अनुमान छ ।

गुरुयोजना अनुसार न्यू लुम्बिनी भिलेज क्षेत्रमा रु एक अर्ब २७ लाख ६० हजार लगानी भएको छ । यो क्षेत्रमा निर्माण भएका होक्के होटल र होटल कासाइले रु ३० करोड ७० लाख लगानी गरेका छन् । यस क्षेत्रका आकर्षक संरचना मानिने लुम्बिनी सङ्ग्रहालय भारत सरकारको रु ३१ करोड ६८ लाख सहयोगमा निर्माण भएको छ भने जापानको अन्तर्राष्ट्रिय संस्था रेयूकाईले रु ३० करोड ८० लाखको लागतमा अन्तर्राष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र निर्माण गरेको छ । यो क्षेत्रमा अझै करीव रु एक अर्बको लागतमा विभिन्न भौतिक संरचनाहरु निर्माण हुनेछन् ।

लुम्बिनीको सबैभन्दा बढी सुन्दर, आकर्षक र महत्वपूर्ण मानिने पवित्र उद्यान क्षेत्रमा रु ३८ करोड ८१ लाख लगानी भएको छ । त्यस्तै, लुम्बिनीको मेरुदण्ड मानिने केन्द्रीय नहर क्षेत्रमा रु २९ करोड ७३ लाख लगानी गरिएको छ । यो क्षेत्रमा नहर निर्माणमा मात्रै रु २४ करोड खर्च भएको थियो । यहाँ गुरुयोजनाअनुसार बाँकी नहर निर्माण, नदी डाइभर्सन, साङ्केतिक पेभेलियन निर्माण, विद्युत व्यवस्थापन र पानी ट्यांकी निर्माणका लागि रु दुई अर्ब ५२ करोड ८६ लाख थप लगानी लाग्ने अनुमान रहेको कोषका निमित्त सदस्य सचिव भट्टराईले जानकारी दिए ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top