लकरमा गोली राख्ने ल्यारक्याललाई प्रचण्ड सरकारले बनायो लुम्बिनी विकासको उपाध्यक्ष

लकरमा गोली राख्ने ल्यारक्याललाई प्रचण्ड सरकारले बनायो लुम्बिनी विकासको उपाध्यक्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादास्पद छवि भएका ल्यारक्याल लामालाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको पार्टीको केन्द्रीय समिति बैठकले आइतावर सुशासन र भ्रष्टाचारविरोधी अभियानलाई साथ दिने निर्णय गरेकै दिन दाहालकै जोडबलमा लामालाई लुम्बिनीको जिम्मा दिइएको हो ।

लामालाई कोषको उपाध्यक्ष बनाउन नहुनेमा पर्यटनमन्त्री सुदन किराती भएपनि प्रधानमन्त्रीकै चाहनामा उनको नियुक्त भएको हो । उनलाई माओवादी नेता वर्षमान पुनको समेत साथ छ ।

कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा, यसअघिका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, सिद्धार्थ महर्जन र कोषका पूर्वसदस्य भिक्षु कुन्डय र स्थानीय सुमार्ग भिक्षु दौडमा थिए ।

लामामाथि पदको दुरुपयोग गरेर अकुत सम्पति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । त्यसका साथै उनिमाथि नेपाल इन्भेस्टमेण्ट बैंकको लकरमा १४ थान गोली राखेको आरोप उनलाई प्रहरीले पक्राउ समेत गरेको थियो ।

भ्रष्टाचार र अपराधिक कर्मका साथै वैदेशिक रोजगारी ठगिको आरोप लागेर जेल समेत बसेका लामालाई प्रधानमन्त्री दाहालले विश्वका शान्तिप्रेमीहरुको पवित्र स्थल लुम्बिनीको नेतृत्व दिएका हुन् । उनको नियुक्ती १६ साउनमा भएपनि सरकारले माओवादी केन्द्रको केन्द्रिय समिति बैठकसम्म गोप्य राखेको थियो ।

लामा माओवादी केन्द्रको केन्द्रीय सदस्य समेत हुन् । उनि यसअघि कांग्रेस एमाले हुंदै माओवादी केन्द्रमा पुगेका हुन् । उनि कांग्रेस हुंदा गुम्बा व्यवस्था समितिको अध्यक्ष, एमाले हुंदा अर्थराज्यमन्त्री र माओवादी केन्द्रबाट समानुपातिक सांसद बनेका थिए । लामा दोहोरो नागरिकता विवादमा समेत फसेका पात्र हुन ।

यस्तो छ विवादास्पद छवि भएका लामाको विगत

नेकपा एमालेबाट राजनीतिमा उदाएका लामा दोस्रो संविधानसभाको चुनावमा माओवादीमा प्रवेश गरेका हुन् । नेकपा माओवादी केन्द्रले लामालाई दोस्रो संविधानसभाको चुनावमा समानुपातिक सांसद बनायो । लामालाई चिनियां दबावमा त्यतिबेला सांसद बनाइएको आरोप थियो ।

उनीमाथि नक्कली नागरिकता र राहदानी बनाएको आरोप लागेको थियो । २०७३ वैशाखमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा समेत दायर गरेको थियो । १० करोड रुपैयाँको मागदावी लिएर दायर गरेको मुद्दामा लामा एक करोड रुपैँया धरौटी तिरेर छुटेका थिए । दोहोरो नागरिकता र राहदानी विवादमा मुछिएका लामा २०५८ साल पुस १९ गते गुम्बा विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए । लामासंग अरु देशको समेत नागरिकता र पासपोर्ट छ ।

लामा बैंकको लकरमा १४ राउण्ड गोली भेटिएपछि २०७२ फागुन ३० गते पक्राउ समेत परेका । गोली काण्डको आरोपमा ९ दिन र वैदेशिक रोजगारको मुद्दामा थप दुई दिन गरेर ११ दिन प्रहरी हिरासतमा बिताएका लामा माओवादीकै दबाबमा छुटेका थिए ।

गोलीकाण्डमा ६६ हजार धरौटी तिरेर जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट छुटेका थिए भने वैदेशिक रोजगारको मुद्दामा ३० लाख धरौटी माग गरेर तारेखमा छाडिदिएको थियो ।

त्यस्तै पदमा रहँदा लामाले आफ्नो अधिकारको दुरुपयोग गरी गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत अमिल्दो उच्चस्तरको जीवनयापन आरोपमा अख्तियारले समेत छानविन गरेको थियो ।