बुटवलबाट रातारात दाङ सारियो लुम्बिनी मुख्यमन्त्री कार्यालयका सामान

बुटवलबाट रातारात दाङ सारियो लुम्बिनी मुख्यमन्त्री कार्यालयका सामान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ सारिएको छ । स्थायी पूर्वाधार बनाएर लुम्बिनी प्रदेशका मन्त्रालय दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामान दाङ पुर्‍याएकाे छ ।

रातिको समयमा तीन वटा ट्रकमा सामान लोड गरी दाङ पु-याइएको हो । यसअघि नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधान नबनेको अवस्थामा तत्काल मन्त्रालय नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

एमाले रुपन्देही र एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित चार सांसद लिला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालय सार्ने काम तुरुन्त रोक्न माग गरेका थिए ।

यसअघि नै गृहमन्त्री बालकृष्ण खाँणले जबरजस्ती मन्त्रालय सार्ने काम भए बाटोबाटै खोसेर ल्याउने चेतावनी समेत दिएका थिए । गृहमन्त्री खाँणले हतारमा मन्त्रालय सार्ने काम रोक्न मुख्यमन्त्री कुलप्रसाद केसीलाई फोन गरेर सचेत समेत गराएका थिए ।

लुम्बिनी प्रदेशमा स्थायी मुकामबारे दलका नेताहरुबीच किचलो भएको थियो । अस्थायी मुकाम बुटवलबाट स्थायी मुकाम तोकिएको दाङ सार्न प्रदेश सरकारले काम तीब्र पार्दा त्यसको विरोध भइरहेको छ । प्रदेश सभाले निर्णय लिँदा दाङको पक्षमा मतदान गरेका सांसदले समेत अहिले राजधानी सार्न हतार नगर्न भन्दै विरोधमा उत्रिएका छन् ।

वि.सं. २०७७ साल असोज २० गते लुम्बिनी प्रदेशको प्रदेश सभाले बहुमतका साथ प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई तोकेको थियो । त्यसबेला प्रदेश सभाका ८२ सांसदमध्ये नेपाली कांग्रेसका जम्मा १३ जना सांसदले मात्र दाङको विपक्षमा मदतान गरेका थिए । तत्कालीन बाम गठबन्धनका ७४ सांसदले पक्षमा मतदान गरेका थिए । कांग्रेसको ह्वीपबिरुद्ध दाङका चार कांग्रेसी सांसदले पनि पक्षमा मतदान गरेका थिए ।

तर यी सबका बाबजुद हतारोमा रातको समय पारेर मन्त्रालय सार्न खोज्नुले राजनीतिक द्वन्द्व बढाउन सक्ने राजनीतिक क्षेत्रमा विश्लेषण हुन थालेको छ ।