काठमाण्डु – लुम्बिनी प्रदेश सभामा विशेष अधिवेशन आह्वान गरिएको छ । विपक्षी दलहरूको मागअनुसार वैशाख १९ गते दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरिएको हो ।
आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको सूचना पाउनासाथ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका थिए ।
त्यसपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विशेष अधिवेशन आह्वान गर्न गर्दै प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिएका थिए । बैठकले मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावको प्रक्रिया अघि बढाउनेछ।
८७ सदस्यीय रहेको लुम्बिनी प्रदेश सभामा एमालेका ४१, माओवादी केन्द्रका १८, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सांसद रहेका छन् । जसपाका चार जना सांसदलार्ई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका छन् ।
लुम्बिनीमा जसपाका चार सांसद बाहेक माओवादी, कांग्रेस, जसपाका दुई र जनमोर्चाका एक जना सांसद विपक्षमा रहेका छन् ।
मुख्यमन्त्री पोखरेललाई हटाउन ४३ जना सांसदको आवश्यकता पर्दछ । त्यसकारण विपक्षीहरुलाई अझै ३ जना सांसदको आवश्यकता देखिएको छ ।




प्रतिक्रिया