काठमाण्डु – लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । यसका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुख समक्ष दाबी पेश गर्न लागेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि दाबी पेश गर्न दिउँसो ३ बजेसम्मका समयसीमा निर्धारण गरेका छन् ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले निर्धारित समयभित्र सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने जानकारी दिए ।
ती चार दलले मुख्यमन्त्री पदमा माओवादी केन्द्र, संसदीय दलका नेता कुलप्रसाद केसीलाई प्रस्ताव गर्न लागेका बताइएको छ । नेकपा (एमाले)ले भने सरकारका लागि दाबी पेश नगर्ने जनाएको छ ।
प्रदेशसभामा हाल ८० सदस्य रहेकामा बहुमतका लागि ४१ सदस्य आवश्यक हुन्छ । कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ जनाले सरकारका लागि दाबी पेश गर्न लागेको जनाइएको छ ।
को–को बन्दैछन् मन्त्री ?
गठबन्धनले आज तीन जनालाई मात्रै मन्त्री बनाउने भएको छ । जसअनुसार माओवादी केन्द्र, कांग्रेस र जसपाबाट एक÷एक जना मन्त्री बन्ने भएका हुन् ।
माओवादी केन्द्रबाट दाङका दामा शर्मा, इन्द्रजित चौधरी र गुल्मीका सुदर्शन बरालको नाम चर्चामा छ । यस्तै नेपाली काँग्रेसबाट दाङका डिल्ली चौधरी र पाल्पाका बिरबहादुर रानामध्ये एक जना मन्त्री बन्ने स्रोतको दाबी छ ।
जसपाका संसदिय दलका नेता सहसराम यादव, बर्दियाकी सुमन शर्मा रायमाझी र पाल्पाकी पुरमती ढेंगा मन्त्री बन्ने बताइएको छ ।




प्रतिक्रिया