काठमाण्डु – नेकपा एमाले लुम्बिनी प्रदेशले सांसद अजय शाहीलाई स्पष्टिकरण सोधेको छ । प्रमुख सचेतक भुमिश्वर ढकालले सूर्य चिन्हबाट चुनाव जितेका सांसद शाहीले केही दिन अगाडि गठबन्धनलाई समर्थन गरेपछि लिखित स्पष्टिकरण सोधेका हुन् ।
‘मुख्यमन्त्री शंकर पोखरेलविरुद्धमा अविश्वास प्रस्ताव टेबुल गर्ने बैठकमा अनुपस्थित हुने दलको निर्णय र ह्वीप उल्लंघन गरी बैठकमा किन भाग लिनुभयो ? सरकारकोविरुद्धमा ल्याएको अविश्वासको प्रस्तावका पक्षमा किन हस्ताक्षर गर्नुभयो ? तपाईका यस्ता गतिविधिले दल पार्टीको शिर निहुर्याउने काम भएको छ । त्यसकारण हाम्रो संसदीय दलको विधानको परिच्छेद ५ को धारा २१ को उपधारा क, ख, छ र ङ बमोजिम तपाईलाई किन कारबाही नगर्ने ?,’ पत्रमा भनिएको छ ।
३ दिनभित्र आफैं दलको कार्यालयमा उपस्थित भएर चित्त बुझ्दो जवाफ दिन निर्देशन दिइएको छ । चित्त बुझ्दो जवाफ नदिए कारबाही प्रक्रिया अगाडि बढाइने पत्रमा उल्लेख छ ।
लुम्बिनीमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार भएको नयाँ सरकार गठनमा सूर्यचिन्हबाट चुनाव जितेका शाही मन्त्री भएका छन् ।





प्रतिक्रिया