रौतहट– माछा भात खाएर फुड पोइजनिङ हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
फुड पोइजनिङ बाट स्थानीय सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारको तीनजना नाबालक छोरा छोरीको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डीएसपी दीपक सापकोटाले बताए ।
छिमेकी राजदेव रामका अनुसार आइतबार राति नरेश राम चमारको छोरीहरू क्रमशः ९ वर्ष कि लालिमा राम,७ वर्ष कि पुष्पा राम तथा ५ वर्ष का छोरा कृष्णनन्दन राम माछा भात खाएर सुतेका थिए।
केही समयपछि तीनैजना बालबालिकाको स्वास्थ्य अवस्था बिग्रेपछि स्थानीय स्तरमा सामान्य उपचार पछि थप उपचारको लागि जिल्ला अस्पताल कलैया लैजाँदा उपचारको क्रममा मृत्यु भएको छिमेकी रामले जानकारी दिएका छन्।
जिल्ला प्रहरी प्रवक्ता सापकोटाले घटनाको पुष्टि गर्दै मृतक तीनैजना बालबालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको बताएका छन्।
घटना बारे अनुसन्धान भइरहेको तथा थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रतिक्रिया