काठमाण्डु- मधेस प्रदेशको प्रदेशसभामा रिक्त विभिन्न समितिका सभापतिहरू चयनका लागि आज प्रदेशसभामा उम्मेदवारी दर्ता हुँदैछ । सभापति चयनका लागि दलहरूबीच छलफल जारी रहेको स्रोतले जनाएको छ ।
प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले प्रदेशसभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको रिक्त रहेका सभापति पदका लागि उम्मेदवारी आह्वान गरेका थिए ।
सत्तारुढ दलहरूले सर्वसम्मतिमै सभापति चयन हुने जनाएका छन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले माओवादी केन्द्रले पनि एउटा समितिको सभापति पाउनुपर्ने दाबी गरेको बताए ।
सत्तारुढ नेपाली काँग्रेसले सार्वजनिक लेखा समिति, नेकपा एकीकृत समाजवादीले कृषि तथा भूमि व्यवस्था समिति र माओवादीले प्राकृतिक स्रोत तथा वातावरण समितिमा आ(आफ्नो दाबी गर्दै आएको छ ।
त्यसैगरी प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टीले सार्वजनिक लेखा समितिको सभापति पाउनु पर्ने दाबी गर्दै आएको छ । संसदीय व्यवस्थामा सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलको रूपमा लोसपा नेपालले पाउनुपर्ने प्रमुख सचेतक परमेशर साहको दाबी छ ।




प्रतिक्रिया