काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस माओवादीमय नभएसम्म मधेसी जनताले अधिकार नपाउने बताएका छन् । शनिबार सर्लाहीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘जबसम्म मधेस माओवादीमय हुँदैन तबसम्म मधेसी जनताको वास्तविक अधिकार प्राप्त पनि हुनेछैन । विकास पनि हुनेछैन ।’
प्रचण्डले अब मधेसी जनता झुक्किने दिन गएको भन्दै कुनै शक्तिले माओवादीलाई मधेससँग जोड्न रोक्ने नसक्ने पनि बताए । साथै, अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बेलायतबाट फर्किने वित्तिकै नागरिकता ऐन पारित हुने दावी गरेका छन् । ‘सबै प्राविधिक कुरा म अहिले भन्दिन । प्रधानमन्त्री फर्केर आएपछि नागरिकता ऐन पारित गरिनेछ’ उनले भने । यो गठबन्धन सरकारले नै मधेसी जनताको नागरिकताको समस्या हल गर्छ भन्ने प्रमाणित गर्ने उनकाे भनाई छ ।
मधेसका लागि दुईपटक संविधान संशोधन प्रस्ताव ल्याएको, नागरिक विधेयक ल्याएको, दलितलाई प्रदेश प्रमुख बनाएको, मधेसबाट राष्ट्रपति प्रस्ताव गरेको तर सबै प्रयास एमाले अध्यक्ष केपी ओलीले असफल बनाएको उनको आरोप थियो ।




प्रतिक्रिया