मधेश : एमाले-माओवादीले प्रदेशमा जसपाको नेतृत्व कुनै हालतमा स्वीकार नगर्ने

मधेश : एमाले-माओवादीले प्रदेशमा जसपाको नेतृत्व कुनै हालतमा स्वीकार नगर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  काठमाण्डुमा सत्ता गठबन्धन फेरिए संगै प्रदेशको सत्ता समीकरणहरू पनि फेरिने निश्चित छ। कुन प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने कुराको आकलन गर्न थालिएको छ।

मधेश प्रदेशमा पनि सत्ताको नेतृत्व कस्ले गर्ने भन्ने आकलन बीच जसपाले मधेश प्रदेश सरकार बचाउन नयां सत्ता गठबन्धनमा जाने निर्णय गरेको छ। तर प्रदेशमा नयां गठबन्धनमा आबद्ध नेकपा एमाले, माओवादी केन्द्रले प्रदेशमा सत्ताको नेतृत्व परिवर्तन हुनै पर्ने शर्त अगाडि सारेको छ।

एमाले र माओवादीका प्रदेशका शीर्ष नेताहरू र प्रदेश सभा सांसदहरूको बैठकले प्रदेशमा सत्ता नेतृत्वको दाबी गर्ने भएको छ। यसको लागि एमालेले पहिलो चरणमा माओवादी केन्द्रलाई नेतृत्व दिने र आधा कार्यकाल पछि एमाले आफैले लिने लगभग सहमति गरेको छ।

माओवादी संसदीय दलका नेता भरत साहले अबको नेतृत्वमा माओवादीको दाबी रहने प्रष्ट पारेका छन्। उनले जसपाले झण्डै साढे एक वर्ष सत्ताको नेतृत्व गरि सकेको हुनाले अब जसपालाई कुनै हालतमा प्रदेशको नेतृत्व दिन सक्ने बताएका छन्। एमालेका प्रदेशका संसदीय दलको नेता सरोज यादवले माओवादीको दाबीलाई समर्थन गर्दै जसपालाई नेतृत्व नदिने अडान लिएको बताए। जसपाको सरकार भ्रष्टाचार र आर्थिक अनियमिततामा चुर्लुम्म डुबेको र विकासको कुनै काम पनि गर्न नसकेको भन्दै अब जसपालाई नेतृत्व दिए त्यो स्वीकार्य नहुने एमाले संसदीय दलका नेता सरोज यादवले बताए।

माओवादी केन्द्र र एमालेले प्रदेशमा बहुमतको लागि अन्य दलहरूसंग पनि कुराकानी चलि रहेको बताएका छन्। माओवादीका भरत साहले प्रदेशमा सरकारको बहुमतको लागि जनमत, नेकपा एस र लोसपा संग पनि निरन्तर संवाद चलेको बताए। “सबैको एउटै शर्त जसपाको नेतृत्व स्वीकार नहुने भने पछि हामीले विकल्प खोज्न बाध्य भएका छौं” भरत साहले भने – “केन्द्रीय नेतृत्वसंग हामीले आफ्नो अडानबारे जानकारी गराइ सकेका छौं।” जसपाको नेतृत्वलाई नै निरन्तरता दिइयो भने माओवादी एमाले समेतले सरकारमा सहभागी नहुने सम्मको अप्रिय निर्णय गर्न सक्ने उनले बताए।

संघीय सरकारमा सत्ता गठबन्धन फेरिए संगै प्रदेश सरकार अल्पमतमा परेको छ। जनमत पार्टीले पहिल्यै नै सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता गरि सकेको छ। नयां समीकरणमा लोसपा सहभागी नहुने पक्का छ। जसपालाई आफ्नो पक्षमा समर्थन जुटाउन धौ धौ परेको छ। मुख्यमन्त्री सरोज यादवको पक्षमा कोही पनि जान तैयार नभए पछि जसपाले मुख्यमन्त्री फेरेर भए पनि आफ्नै नेतृत्वको सरकार बनाउने बारे गम्भीर छ। जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशमा आफ्नै नेतृत्वमा सरकारलाई निरन्तरताको लागि नै नयां सत्ता समीकरणमा जाने भन्दै पार्टीबाट निर्णय गराएका थिए। उनले आफ्नो मुख्यमन्त्री सरोज यादवलाई परिवर्तन गरेर भए पनि नेतृत्वको दाबी कुनै हालतमा नछोड्ने उनका निकट स्रोतले बताएको छ ।