माधव नेपाल र बाबुरामविरुद्धको मुद्दामा फेरि सुनुवाई हुने

माधव नेपाल र बाबुरामविरुद्धको मुद्दामा फेरि सुनुवाई हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेका सबै मुद्दामा फेरि सुनुवाई हुने भएको छ । गोलाप्रथाबाट पेसी तोक्ने प्रकृयाका लागि गत मंसिर ९ गते बसेको सर्वोच्च अदालतको पूर्णबैठकले हेर्दाहेर्दै र निसुमा रहेका सबै मुद्दाको फेरि सुनुवाइ गर्ने निर्णय गरेको हो ।

सो निर्णयअनुसार अब बालुवाटार जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथिको मुद्दा पनि पुनः सुनुवाई हुने भएको छ ।

उक्त रिटमाथिको सुनुवाइ सकिएर निसुको मिति कात्तिक १५ मा तोकिएको थियो । तर, त्यसबेला न्यायाधीश नहकुल सुवेदी देशबाहिर रहेकाले फैसला भएको थिएन । अब यो मुद्दाको पनि फेरि सुनुवाइ हुने भएको हो ।

सामान्यतया मुद्दाको सुनुवाइ सुरू भएपछि एकैदिनमा नटुंगिए अर्को दिन निरन्तर सुनुवाइ हुने प्रकृतिको सुनुवाइलाई हेर्दाहेर्दैको सुनुवाइ भनिन्छ । त्यस्तै सुनुवाइ सकिएपछि न्यायाधीशहरूबीच छलफल नसकिए फैसला सुनाउनका लागि तोकिएको दिनलाई निर्णय सुनाउने अर्थात निसु भनिन्छ ।

सर्वोच्च अदालतमा अहिले २ दर्जनबढी मुद्दा हेर्दाहेर्दैमा छन । यस्तै निसुका लागि तोकिएको १ दर्जन बढी मुद्दा फैसला हुन बाँकी छ । अब यी मुद्दाको सुनुवाइ गोलाप्रथाबाट पेसी तोकी फेरि सुनुवाइ गर्नुपर्नेछ ।

सर्वोच्च अदालतले प्रधानन्यायाधीशले पेसी तोक्ने तजबिजी अधिकारलाई कटौती गरी भोलिबाट गोलाप्रथा प्रणाली लागू गर्दैछ । यसअघि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सबै मुद्दाको पेशी तोक्दै आइरहेका थिए ।