काठमाण्डु – माधवकुमार नेपालसहित १४ सांसद पदमुक्तको अन्तरिम आदेश माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथिको सुनुवाइ हेर्दा हेर्दैमा रहेको छ ।
न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा सोमबार बहस हुँदाहुँदै समय सकिएपछि उक्त मुद्धाको टुंगो नलागेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । दाहालले सुनुवाइ नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा गएको बताए । उनका अनुसार सो मुद्दामाथिको सुनुवाइ मंगलबार पनि जारी रहनेछ।
एमालेले निष्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता गरेको भन्दै ओलीले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।
रिटमा १४ सांसद कारवाही नगर्ने सभामुखको निर्णय खारेज हुनुपर्ने, एमालेले कानुन बमोजिम गरेको कारवाही कार्यान्वयन गरी सूचना टाँस्न अन्तरिम आदेश दिनुपर्ने माग गरिएको छ । एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र १ भदौमा संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका सांसदलाई निष्कासन गरेको सूचना टाँस गरेका थिएनन् ।




प्रतिक्रिया