एमसीसी टेबुल गरे विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

एमसीसी टेबुल गरे विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरिरहेका बेला नेकपा एसले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

‘सकेसम्म टेवल गर्ने वातावरण बनाउन दिदैनौं । यदि टेवल भए विपक्षमा मत हाल्छौं । राष्ट्रभन्दा ठूलो सत्ता र गठबन्धन होइन,’ नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने । नेकपा (माओवादी केन्द्र) ले पनि एमसीसी टेवल भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सरकारमा सहभागी अर्को दल जनता समाजवादी पार्टी (जसपा), नेपालले भने माओवादी र नेकपा एसले जे निर्णय गर्छन् सोही अनुसार अघि बढ्ने बताएको छ ।

गठबन्धन दलहरु मध्ये एमसीसीको पक्षमा कांग्रेस मात्र देखिएको छ । यता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एमसीसीका विषयमा स्पष्ट धारणा सार्वजनिक गरेको छैन । सरकारले पहिला एमसीसीका बारेमा औपचारिक धारणा सार्वजनिक गरेपछि मात्र एमालेले आफ्नो धारणा बाहिर ल्याउने जनाउँदै आएको छ । प्रतिनिधिसभामा एक जना मात्र सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एमसीसीको विरोध गर्दै आएको छ । राप्रपाले एमसीसीको विरुद्धमा विरोध कार्यक्रम गर्दै आएको छ ।

सर्वसम्मति नभई एमसीसी टेबुल गर्न नसकिने अडानमा सभामुख सापकोटा

त्यसैगरी सभामुख अग्निप्रसाद सापकोटाले सर्वसम्मति नभई एमसीसी टेबुल गर्न नसकिने बताएका छन् । मंगलबार राति प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरी प्रतिनिधिसभा बैठकको कार्यसूचीमा एमसीसी राख्न अनुरोध गर्दा यस्तो प्रतिक्रिया दिएको सभामुखको सचिवलयले जनाएको छ । हालको अवस्थामा टेबुल गर्न सहज नभएको भन्दै सापकोटाले पहिले सवैदल सँग सहमति गर्न आग्रह गरेका थिए ।

सभामुख सापकोटाले बोलाएको संघीय संसद अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको एजेन्डा तय गर्न कार्यव्यवस्था समितिको बैठक बसिरहेको स्रोतले जनाएको छ ।