काठमाण्डु – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिमलाई विश्वभर चिनाउन त्यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास हुनु जरुरी रहेको बताएका छन् ।
सुदूरपश्चिमकै धार्मिक आस्थाको धरोहर तथा प्रसिद्ध बडिकेदार मेलामा सहभागी हुनका लागि आज पुगेका अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशमा रहेका विभिन्न धार्मिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न र देश विदेशमा चिनाउनका लागि भए पनि ती क्षेत्रको संरक्षण तथा थप विकास गर्न जरुरी रहेको बताए ।
‘सुदूरपश्चिम धार्मिक, पर्यटकीय क्षेत्रसहित कला संस्कृतिले धनी प्रदेश हो, यहाँका पुराना कला संस्कृति र धार्मिक क्षेत्रको प्रचारप्रसारसहित संरक्षण गर्न अति जरुरी छ,’ उनले भने । यसैगरी उनले डोटीमा हिन्दू धर्मका चारै धामलगायत प्रमुख धार्मिक क्षेत्रको एउटै स्थानमा हेर्न मिल्ने गरी पर्यटकीय सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफू प्रधानमन्त्री भएका बेला सबै धार्मिक क्षेत्रको झल्को दिने गरी धार्मिक सङ्ग्रहालय स्थापना गर्ने अवधारणा अगाडि ल्याएको भए पनि आफू सरकारबाट बाहिरिएसँगै सो कुराले प्राथमिकता नपाएको दुखेसो व्यक्त गरे ।
उनले भने, ‘म प्रधानमन्त्री हुँदा धार्मिक सङ्ग्रहालय स्थापना गर्ने अवधारणा अगाडि ल्याएको थिए, पछि कसैले बनाउनु भएन । अब चाँडै धार्मिक सङ्ग्रहालय निर्माण गर्ने कार्यले सफलता पाओस् ।’




प्रतिक्रिया