काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री कोही नपाएको भए आफूहरू दिन तयार रहेको बताएका छन् । आइतबार संयुक्त विद्यार्थी आन्दोलनका नेताहरुसँग अध्यक्ष नेपालले आफूले आपूर्तिमन्त्री दिन तयार भए पनि प्रधानमन्त्री देउवाले चासो नदेखाएको बताएका हुन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राखेर आन्दोलनरत विद्यार्थी नेताहरु अध्यक्ष नेपालको ध्यानाकर्षण गराउन गएका थिए । सो क्रममा नेपालले भने, ‘आपूर्ति मन्त्री नहुँदा पनि समस्या छ । प्रधानमन्त्री आफैँले सबै हेर्न पनि सकिँदैन । हामीले भनेका छौं अरु कोही नपाइएको भए । हामी छँदैछौं नि मन्त्री दिने । तर सुन्दैनन् अब गर्ने के ?’
जनतालाई मर्का पर्ने गरी मूल्यवृद्धि गर्न नहुने बताउँदै नेपालले यसबारे गठबन्धनका नेताहरुसँग छलफल गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनेसमेत जानकारी दिए । ‘सबैभन्दा पहिले सरकार गम्भीर बन्नुपर्यो । सरकार गम्भीर बन्न सकेको छैन भने सत्तामा बसेका पार्टीहरुले चासो र सरोकार राख्नुपर्यो । यसर्थ यो हाम्रो दायित्वभित्र पनि पर्दछ,’ उनले भने ।




प्रतिक्रिया