कसैले चाहँदैमा पाँच दलीय गठबन्धन फुट्दैन : माधव नेपाल


काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हालको पाँच दलीय गठबन्धन नफुट्ने बताएका छन् । बुधबार अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरू मिलेर अगाडि बढ्ने बताएका हुन् ।

कसैले चाहँदैमा हालको गठबन्धन नफुट्ने उनको भनाइ छ । अध्यक्ष नेपालले भने, ‘दिनदिनै पत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ । दिमाग खराब गर्ने काम नगर्नुस् । यो गठबन्धन फुट्नेवाला छैन । कसैले फुटाउन खोजे पनि यो गठबन्धन फुट्नेवाला छैन ।’

आज स्थानीय तहको निर्वाचनकोबारेमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफूले छलफल गरेको पनि जानकारी दिए । उनले आफूहरूबीच पत्रपत्रिकामा आएका समाचारहरूको सम्बन्धमा पनि छलफल भएको र गठबन्धन फुट्ने कुरामा सत्यता नरहेको पनि दावी गरे । अध्यक्ष नेपालले गठबन्धनलाई बलियो बनाएर लानुपर्छ भनेर आफूहरूले प्रतिबद्धता जनाएको पनि जानकारी दिए ।

हाल सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्ने की नगर्ने विषयमा विवाद बढेको छ । प्रधानमन्त्री देउवाले गठबन्धन दलहरुले एमसीसी पास गर्न सहयोग नगरे गठबन्धन फुट्ने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement