चुनावी तालमेलले माधव नेपाललाई थपिएको तनाव !

चुनावी तालमेलले माधव नेपाललाई थपिएको तनाव !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो समय राजनीतिक दलहरु स्थानीय तह निर्वाचनको तयारीमा जुटेका छन् । सत्ता गठबन्धनमा अल्झिएको एमसीसीको गाँठो फुकेलगत्तै प्रमुख राजनीतिक दलहरु आक्रामक रुपमा आशन्न निर्वाचनको तयारीमा जुटेका हुन् । स्थानिय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ ।

त्यसका लागि राजनीतिक दलहरु पछिल्लो समय चुनावी मोर्चा बनाएर मैदानमा उत्रिन्छन् वा एक्लै भन्ने बहस चल्न थालेका छन् । यस्तोमा सत्तारुढ गठबन्धन भित्रै चुनावी तालमेलको प्रयास जारी छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धननै चुनावी तालमेलमा जानुपर्ने धारणा राख्दै आएका छन् ।

नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका केहि नेताहरुले पनि गठबन्धन निर्वाचनसम्मै रहने बताउँदै आएका छन् । तथापी कांग्रेस भित्र एक्लै चुनावमा जानुपर्ने बलियो मत रहेको छ ।

नेता डा. शेखर कोइराला र उनीनिकट अन्य नेताहरू भने तालमेलको विपक्षमा छन् । तालमेलबारे निर्णय लिन कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठकले अरु पार्टीसँग चुनावी एकता गर्ने या नगर्ने निर्णय गर्नेछ । कांग्रेस चुनावी तालमेलबारे निर्णय लिने चरणमा पुगिसक्दा गठबन्धनको मुख्य घटक नेकपा एकीकृत समाजवादी भने ढुक्क छैन ।

समाजवादीका अध्यक्ष नेपालले चुनावी एकता नगरे गठबन्धनको औचित्य नरहने बताउँदै आएका छन् । सोही सन्दर्भमा उनले चुनावी एकता गर्न तयार नभए सरकार छोड्न सक्नेदेखि अन्य दलसँग एकता गर्नेसम्मको धम्की कांग्रेसलाई दिँदै आएका छन् ।

त्यस्तै उनले हालै देउवा र प्रचण्डसँगको छलफलमा ‘एमालेले जितेका सबै स्थानीय तहमा आफ्नो दाबी रहने’ बताएका थिए । यद्यपि आफ्नो पार्टी एमालेसँग विभाजित भएर आएको नयाँ पार्टी भएकाले एक्लै चुनाव लडेर ‘उपलब्धी’ जोगाउने सम्भावना नेपालले देखेका छैनन् ।

नेपालले कांग्रेसले चुनावी एकता गर्न नमाने माओवादी केन्द्र र जसपासँग चुनावी तालमेल गर्ने प्रस्तावलाई अघि सारेका छन् । पार्टी अध्यक्ष नेपालले नै सो प्रस्ताव अघि सारेपछि एकीकृत समाजवादीका नेताहरुले औपचारिक कार्यक्रमहरुबाटै चुनावी एकताका लागि कांग्रेस तयार नभए माओवादी केन्द्र र जसपासँग मात्रै भएपनि चुनावी तालमेल गर्ने बताउन थालेका छन् ।

सोही सन्दर्भमा नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जसपा र माओवादी केन्द्रसँग चुनावी गठबन्धन हुन सक्ने सम्भावना रहेको बताए । तीनै चरणमा तालमेल विना निर्वाचनमा जाने संभावना कम भएपछि समाजवादी पार्टीले अन्य पार्टीसँग तालमेल गरेर निर्वाचनमा जाने तयारी गरेको हो ।