निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प छैन : माधव नेपाल


काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बाराको निजगढमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बसेको बैठकमा अध्यक्ष नेपालले उक्त अन्तर्राष्ट्रिय विमानस्थल बाराको निजगढबाहेक अन्य स्थानमा बनाउन नसकिने बताएका हुन् ।

सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने फैसला गरेको थियो । सर्वोच्चको उक्त फैसला पछि आज समितिले छलफल आयोजना गरेको हो ।

‘सर्वोच्चबाट जे आयो भनिएको छ म स्तब्ध छु । यो विकासको बाधक हुन्छ,’ छलफलमा अध्यक्ष नेपालले भने, ‘विकासको सहयोगी हुनुपर्छ राज्यका कुनै पनि निकाय, विकासको बाधक हुने होइन,’ उनले त्यहाँको वस्तुस्थितिबारे जानकारी नभइकन बनाउन नहुने भन्ने निर्णय गरिएको बताए ।

‘जहाँ एयरपोर्ट निर्माण हुँदै छ त्यहाँ जंगल छँदै छैन । जुन ठाउँ सोचिएको छ, त्यहाँ बनाउन हुँदैन भनिएको छ त्यो नबुझेर भनिएको हो । अर्को दक्षिण सार्ने भनिएको छ । काठमाण्डुको बस्ती उठाएर एयरपोर्ट बनाउने भने जस्तै हो संभव नै छैन,’ उनले भने ।

त्यसैगरी सरकारले बाराको निगजढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यक्रम ल्याएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न ढाँचा निर्माण गरी लगानी बोर्डमार्फत आयोजना विकास कार्यक्रम अघि बढाइने जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement