मन्त्री हेरफेर दिनमा होइन घण्टाभित्र हुने नेकपा एसको दाबी


काठमाण्डु- नेकपा एकीकृत समाजवादीले अब दिन नभएर केही घण्टाभित्रै नयाँ मन्त्रीहरु नियुक्त हुने बताएको छ । बिहीबार बसेको पार्टी सचिवालय बैठकपछि उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले मन्त्री हेरफेर हुन धेरै समय नलाग्ने दावी गरेका हुन् । उनले मन्त्री हेरफेरबारे पार्टीको स्थायी कमिटी र सचिवालयले गरेको निर्णय कार्यान्वयन हुने दावी गरे ।

‘पार्टीको स्थायी कमिटी र सचिवालयले गरेको निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने एकमात्र शर्त हो । व्यक्तिगत छलफल कसले कोसँग कति गर्यो भन्ने फरक कुरा हो, एकदमै चाँडै अब दिनहरुमा होइन, घण्टाहरूमा मन्त्रीहरुको हेरफेर गर्ने दिशातिर लागिरहेको छ । जे निर्णय गर्यो त्यो निर्णय पार्टीले कार्यान्वयन गर्नेछ’

उनले मन्त्री भन्ने चीज कसैको चिरस्थायी नहुने पनि बताए । खतिवडालले मन्त्री हेरफेर गर्नुअघि बहालवाला मन्त्रीहरुले राखेको शर्त हल्लामात्र भएको पनि पुष्टि गरेका छन् । उनले भने, ‘पार्टीमा व्यक्तिगत रुपमा कसले कोसँग छलफल गर्‍यो ? के भन्यो भन्ने कुराले अर्थ राख्दैन । पार्टीको निर्णय नै अन्तिम सर्त हुन् । पार्टीले निर्णय गरिसकेको छ । अहिले पार्टीको निर्णयभन्दा माथि कोही पनि छैन ।’

आज अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै मन्त्री हेरफेरबारे छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement