काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको निशुल्क उपचार गर्न सरकारलाई आग्रह गरेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै नेता नेपालले सरकारले कोरोना संक्रमित बिरामीको निःशुल्क उपचार नगर्न नसक्ने विषयमा गरेको निर्णयबारे आपत्ति जनाउँदै यस्तो आग्रह गरेका हुन् ।
‘कोरोना भाइरसको महामारीले मुलुक आक्रान्त भइरहेको र बिरामीको संख्या दिनानुदिन बढिरहेका बेला सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफैं उपचार गर्नका लागि निर्देशिका जारी गरेको कुरा प्रति मेरो गम्भीर ध्यानआकर्षण भएको छ’, उनले भनेका छन् ।
नेता नेपालले सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमितहरु थप मारमा परेको बताएका छन्।
‘संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ । यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन’, उनले भनेका छन्, ‘त्यसमा पनि गरिबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गम्भीर विषय हो ।’
उनले संक्रामक रोगसम्बन्धी कानूनी प्रावधानहरुले पनि सरकारलाई नागरिकको निशुल्क उपचारको व्यवस्था गर्ने दायित्व सम्पिएको बताएका छन् ।
‘संक्रामक रोगसम्बन्धी कानूनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु’, नेता नेपालले भने ।




प्रतिक्रिया