ओलीलाई संसद विघटन गर्ने अधिकार नै छैन्ः माधव नेपाल

ओलीलाई संसद विघटन गर्ने अधिकार नै छैन्ः माधव नेपाल


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णय अमान्य हुने बताएका छन् ।

सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले अहिलेको अवस्थामा प्रतिनिधिसभा विघटन गर्न नमिल्ने बताएका छन् ।

‘केपी ओलीको संसद विघटन गर्ने निर्णय असंवैधानिक निर्णय हो । अहिलेको अवस्थामा प्रतिनिधिसभा विघटन गर्न मिल्दैन् । अहिले उहाँ अल्पमतका परिसेकेको अवस्थामा हिजो संविधान निर्माण गर्दाको जुन स्प्रिड हो । अर्को हामीले ल्याएको व्यवस्थाविरुद्धमा भएको हुनाले यो निर्णय निरंकुश तरिकाले अवलम्बन गरिएको छ’, उनले भने, ‘संसद विघटन भएको ठान्दैनौं । किनभने संसद विघटन गर्ने अधिकार नै उहाँलाई छैन् । उहाँले बाटोमा हिँड्दा हिँड्दै कुनै निर्णय गर्नुभयो भने मान्दिने ? यस्तो विषयलाई राष्ट्रपतिले स्वीकार गर्नुभयो यो पनि खेदजनक छ ।’

नेता नेपालले संसदीय दलको बैठक बसिरहेको र त्यसको विरोधमा संसदीय दलमा सांसदहरुको उपस्थिति बाक्लो रहेको पनि जानकारी दिए ।

‘सांसदहरुले यसको विरोध गरिरहेका छन् । त्यसकारण यसलाई हामी मान्ने पक्षमा छैनौं’, उनले भने, ‘निर्णय अस्वीकार गर्नका लागि हामी के–के उपायहरु हुन्छन् सबै उपाय अवलम्बन गर्छौं । राजनीतिक र संवैधानिक उपाय अपनाउँछौं ।’