काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट धेरै पीडित भएको बताएका छन् ।
बुधबार बिहान आफू निकट सम्पादकहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले पार्टी एकता भन्दा अगाडि प्रधानमन्त्री ओलीबाट धेरै पीडा पाएको बताउँदै हाल उनीबाट मुक्त भएको बताए ।
‘हाम्रो त बिजोग भो । ओलीबाट धेरै पीडा पाइयो । मनको बह कसलाई कह भनेर बसेका थियौं, उनले गुनासो पोखे, ‘केपीले बैठकमा एकताको प्रस्ताव ल्याएपछि ओलीको पेलान र प्रवृतिबाट मुक्ति पाइने भयो भनेर ठूलो राहत महसुस भयो । तर, एकतापछि फेरि विधि मिच्न थालियो । अस्पतालमा बैठक बोलाइयो, बालकोटमा बैठक बोलाउने काम भो अहिले हामी ओलीबाट मुक्त भएका छौँ ।’
त्यस्तै नेनता नेपालले प्रधानमन्त्री अोलीले प्रचण्ड र आफूलाई जेल कोच्ने योजना बनाएको खुलासा गरेका छन् । उनले बालुवाटारस्थित ललिता निवास प्रकरणलाई लिएर प्रधानमन्त्री जेल हाल्ने योजना बनाएको बताए ।
‘ओलीले पहिलो नम्बरमा मलाई जेल कोच्ने र त्यसपछि प्रचण्डलाई जेल कोच्ने योजना बनाएका थिए । ललिता निवास प्रकरण त्यहीँको योजनाबाट थियो’, उनले भने, ‘केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा मलाई पोल्छ । गल्ती छन् भने स्वीकार्छु, नगरेको गल्तीको भारी बोक्न मन लाग्दैन ।’
नेपाल प्रहरीले बालुवाटारस्थित ललिता निवास प्रकरणको सरकारी जग्गा हिनामिना गर्ने करिब ४ सय जनाविरुद्ध मुद्दा दर्ता गर्नुपर्ने बताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब १ सय ४३ रोपनी जग्गा हिनामिना प्रकरणमा तत्कालीन खरिदारदेखि मुख्यसचिवसम्मका डेढ सय कर्मचारीसहित पूर्वमन्त्री, ललिता निवासका तत्कालीन भोगाधिकारी, व्यापारी र भूमाफियालाई प्रतिवादी बनाएर किर्ते अभियोगमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको हो ।




प्रतिक्रिया