काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गराउन नसक्ने बताएका छन् ।
सोमबार अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद्को बैठकमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते निर्वाचन गर्न नसक्ने स्पष्ट पारेका छन् ।
उनले ओली नेतृत्वको नेकपाको माघ २३ गतेको जनसभामा तीन लाख मानिस उतार्ने भनेकोमा २०/२५ हजार मान्छे मात्रै भेला पारेको बताए । उनले प्रधानमन्त्री ओलीले पञ्चको रवैया देखाएको आरोप लगाएका छन् ।
‘भ्रममा नपर्नुहोला , सूर्य चिह्न कहाँ जान्छ ? जहाँ नेकपा छ सोही ठाउँ । सूर्य चिह्न हाम्रै हुन्छ । यो पार्टीलाई माइनस गरेर चुनाव गराउने भ्रम केपी ओलीले पालेका छन् भने नपाले हुन्छ । केपी ओलीले चुनाव गराउने पनि होइन । उनले देशलाई द्वन्द्वमा धकेलिरहेका छन् । उनको रवैया देखिसक्यौंं । पञ्चको रवैयामा उनले तीन लाख मान्छे किन ल्याइनस भन्दै गाली गरिरहेका छन्’, उनले भने ।
उनले तीन सय भन्दा बढी केन्द्रीय सदस्यहरु आफ्नो पक्षमा रहेको बताए । उनले ओलीसँग एक सय भन्दा बढी केन्द्रीय सदस्य नरहेको प्रष्ट पारेका छन् । अध्यक्ष नेपालले प्रधानमन्त्री अोली नेतृत्वको नेकपा चोइटिएर गएको बताए । उनले नेकपा चोइटिएर सानो टुक्रो ओली समूह भएको बताए ।
अध्यक्ष नेपालले ओली पक्षसँग असल मानिस नरहेको बताए । उनले ओलीसँग ‘बा’ भन्न रुचाउने मान्छे मात्रै रहेको टिप्पणी गरेका छन् ।
‘केपी ओलीको पक्षमा ‘बा’ भन्ने मात्रै छन् । त्यहाँ क्रान्तिकारी, सहयोद्धा छैनन् । हामीसँग असल मानिस छन्,’ अध्यक्ष नेपालले भने, ‘केपी ओलीसँग जोडिएका मान्छे नौटंकी गर्न मात्रै सिपालु छन् । उनीहरूले राजनीतिक कुरा गर्नु गफ मात्रै हो । ओली बा पार्टी खोल्दिए सबै भन्दा राम्रो । त्यो मन पराउने सबै उतै जान्छन् ।’




प्रतिक्रिया