ओलीलाई स्पष्टीकरण बुझाउने तयारीमा माधव नेपाल पक्षका नेता

ओलीलाई स्पष्टीकरण बुझाउने तयारीमा माधव नेपाल पक्षका नेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहितका चार नेताले स्पष्टीकरणको जवाफ बुझाउने तयारी गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टिकरणको जवाफ नेता नेपालसहित ४ नेताले राजनीतिक रूपमा दिन तयारी गरेका नेता रघुजी पन्तले जानकारी दिए । बुधवार बसेको नेपाल समूहको स्थायी कमिटी सदस्यहरूको बैठकले आगामी रणनीति तथा स्पष्टीकरणको विषयमा छलफल गरेको थियो ।

चैत ७ गते ओलीले बोलाएको एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्दै वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पार्टी हित विपरितका गतिविधिमा लागेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गर्दै सोमबार स्पष्किरणको पत्र पठाएको थियो ।

चैत ४ र ५ गतेको राष्ट्रिय भेलापछि नेपाल समूहले जिल्ला कमिटी र जनवर्गीय संगठनमा समानन्तर कमिटी बनाइरहेको छ । चैत ४ र ५ गतेको कार्यकर्ता भेलापछि नेपाललाई १० बुँदे, पाण्डेलाई ६ बुँदे, रावललाई ५ बुँदे र भुषाललाई ४ बुँदे स्पष्टिकरण एमालेको ओली पक्षले सोधेको थियो । महासचिव इश्वर पोखरेलले हस्ताक्षर गरेर सोधिएको स्पष्टिकरणमा तीन दिनभित्र लिखित जवाफ दिन निर्देशन गरिएको छ । जवाफ नदिए वा चित्तबुझ्दो जवाफ नआए पार्टीले कारवाहीको प्रक्रिया अगाडी बढाउने चेतावनी पनि पत्रमार्फत दिईएको थियो ।

सोमबार मात्रै नेपाल सहितका नेतालाई एमाले केन्द्रीय कार्यालयका तर्फबाट खटिएका कर्मचारीले स्पष्टिकरण पत्र बुझाएका थिए । ओलीले साविक नेकपा हुदै गर्दाका कतिपय विषयमा समेत रिसिइवी साँध्ने ढंगले नेपाल लगायतका नेतालाई स्पष्टिकरण सोधिएको छ । प्रचण्डलाई दैनिक किन भेटघाट गरिरहेको, ओली विरुद्ध गत कात्तिक २८ गते प्रचण्डले साविक नेकपाको सचिवालयमा प्रस्तुत गरेको १९ बुँदे प्रस्तावको मतियार किन बनेको जस्ता विषयमा पनि प्रश्न उठाउदैं स्पष्टिकरण सोधिएको छ ।

तर नेपाल समूहले पनि माओवादी केन्द्रसँग पार्टी एकता गर्नुकाे कारण, एमाले विघटन र जबज परित्यागको कागजमा हस्ताक्षर, प्रचण्डसँग आधा–आधा सरकारको नेतृत्वकाे पालना, संसद किन विघटन जस्ता विषयमा प्रश्न साेध्ने स्राेतले जानकारी दियाे ।

नेपाल पक्षले सर्वोच्च अदालतले फागुन २३ मा नेकपाको एकता बदर गरेर एमाले र माओवादी केन्द्र ब्यूँताईदिने निर्णय गरेपछि एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर त्यही शिराबाट नयाँ ढंगले एकताबद्ध गराएर लैजानुपर्ने बताउदैं आएका थिए । तर, ओली पक्षले गत फागुन २८ मा नेपाल पक्षका केन्द्रीय समिति सदस्यहरु कसैलाई पनि बैठकमा नबोलाई नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोस्ने, पार्टी महाधिवेशन आयोजक समिति बनाएर लैजाने र विधानमा ब्यवस्था नै नभएको अर्थात अब मनोनित गर्ने संख्या नै नरहेको अवस्थामा माओवादी छोडेर एमालेमा लागेका रामबहादुर थापा लगायतका नेतालाई मनोनित गरेको निर्णय सच्याउनु पर्ने माग गर्दै आएका छन् ।

ओली पक्षले त्यसमा अटेर गरेर जर्बजस्ती अगाडी बढेपछि चैत ४ र ५ मा नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला गरी ओली प्रवृतिलाई परास्त गर्ने र स्थानिय तहसम्मै समानान्तर संगठनात्मक संरचना निर्माण गरेर जाने निर्णय लिएका थिए । यसलाई पनि ओली पक्षले पार्टी अनुशासन विपरित काम गरेको भन्दै नेताहरुलाई स्पष्टिकरणमा जवाफ माग गरेको थियो ।