प्रचण्डलाई किक हान्ने ओलीलाई अध्यक्षको रुपमा टाउकोमा राख्न अभिशप्त छौं : माधव नेपाल

प्रचण्डलाई किक हान्ने ओलीलाई अध्यक्षको रुपमा टाउकोमा राख्न अभिशप्त छौं : माधव नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता माधवकुमार नेपालले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको फूर्ती नलगाउन चेतावनी दिएका छन् ।

आइतबार एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षको काठमाण्डु जिल्ला कमिटीको समानान्तर समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु कसैले फालेर फालिने मान्छे नभएको भन्दै प्रधानमन्त्रको फुर्ती लगाउने काम नगर्न चेतावनी दिएका छन् ।

‘केपी ओलीले फालेर फालिने मान्छे हौं ? केपी ओलीले ल्याएर आएका हौं ?,’ नेता नेपालले भने, ‘कसैले प्रधानमन्त्रीको फुर्ती लगाउँछ भने त्यसको कुनै काम छैन ।’

उनले प्रधानमन्त्री ओलीको कार्यशैलीबाट वामदेव गौतम पनि थाकिसकेको बताएका छन् । छिट्टै नै गौतम पनि आफूहरुको समूहमा आउने उनले दाबी गरे ।

नेता नेपालले गौतम पनि पार्टीभित्रकै अन्तविरोधका कारण चुनाव हारेको र ओली पक्षले नै हराएको दावी गरेका छन् । उनले केन्द्रीय कमिटीमा आफुहरु ९७ जना हुने पनि दाबी गरेका छन् ।

‘ओलीको कार्यशैली र व्यवहार देखेर नेता वामदेव पनि थाकिसक्नुभयो, अब उहाँपनि हामीसँगै आउनुहुन्छ’, नेता नेपालले भने, ‘‘वामदेव गौतम त्यही कारणले हार्नुभएको हो, हराइएको हो थाहा छ तपाईंहरुलाई । विभिन्न व्यक्तिहरुलाई विभिन्न ठाउँमा हराउनका लागि उहाँले भूमिका खेल्नुभयो ।’

उनले ओलीले पार्टी बनाउन नचाहेको भन्दै गुट र भजन मण्डली बनाउन लागिपरेको आरोप लगाएका छन् । नेता नेपालले काठमाण्डु क्षेत्र नम्बर २ मा उम्मेद्वार हुँदा केपी ओलीका मान्छेले आफूलाई हटाउने खोजेकोसमेत बताए ।

‘काठमाण्डुको २ नम्बर क्षेत्रमा उम्मेदवार हुँदाखेरी केपी ओलीका मान्छेले मलाई चुनाव हराउन खोजेका थिए । मलाई हराउनका लागि मेरो सामुन्ने नै प्रयत्न गरेका थिए। आफ्नो पक्षको उम्मेदवारका पक्षमा पर्चा बाढ्दै र भोटमाग्दै हिँडेका थिए । माधव नेपालको त नामैले, अनुहारले नै भोट आइहाल्छ नि किन बाड्नु पर्यो पर्चा, किन माग्नु पर्यो भोट भन्थे’, उनले भने ।

नेता नेपालले आफूलाई पुष्पकमल दाहाल प्रचण्डको कार्यकर्ता भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्री अ‍ोलीले पदमा पुग्न चाकरी गरेको होइन ? भन्दै प्रश्नसमेत गरेका छन् ।

‘के हिजो प्रचण्डको कार्यकर्ता थिए ओली ? आफू पदमा पुग्न चाकरी गरेको होइन ? स्वार्थ पूरा भएपछि प्रचण्डलाई लात्तीको किक हानेर फाल्ने व्यक्ति (केपी ओली) लाई अध्यक्षको रुपमा टाउकोमा राख्न अभिशप्त भएका छौं’, उनले भने ।