काठमाण्डु – नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्र शाहको दोस्रोे अवतार भएको टिप्पणी गरेका छन् ।
शुक्रबार साझामा भएको एक कार्यक्रममा बोल्दै नेता नेपालले प्रधानमन्त्री ओलीको निरंकुशताले कम्युनिष्ट आन्दोलन नै बर्बादीतर्फ धकेलिएको भन्दै उनी ज्ञानेन्द्रको दोस्रो अवतार भएको बताएका हुन् ।
‘केपी ओली राजा ज्ञानेन्द्रको दोस्रो अवतार हुन्‚’ उनले भने, ‘ओलीको निरंकुशताले कम्युनिष्ट आन्दोलननै बर्बादीतर्फ धकेलियो । आफूहरूले एमालेको एकता बचाउन देशव्यापी अभियान सञ्चालन गरेका छौं ।’
नेता नेपालले प्रधानमन्त्री अोली राजनीतिक खेलाडी भएको टिप्पणी गरेका छन् । उनले ओली राजनीतिक खेलाडी भएकै कारणले प्रधानमन्त्री ओलीले राजनीतिक खेल खेल्न खोजेको आफूले थाहा पाएपछि उनको आग्रह टेर्नुपर्ने कुनै कारण नभएको बताए ।
‘बिहान ११ बजे वामदेव गौतमलाई, १ बजे मलाई र अपरान्ह ४ बजे प्रचण्डलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बनी दिनुहोस् भन्दै प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । ओली झूटको पुलिन्दा र चरम व्यक्तिवादी मानिस भएकोले कसरी विश्वास गर्नु? ,’ नेता नेपालले भने ।




प्रतिक्रिया