काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले विपक्षी गठबन्धनबाट बाहिरिने घोषणा गरेका छन् । सर्वोचच अदालतले सोमबार संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन फैसला गरेपछि बसेको पाँच विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले गठबन्धनबाट बाहिरिने बताएका हुन् ।
उनले नेकपा एमालेसहितको सर्वदलीय सरकार बनाउन देउवालाई सुझाव समेत दिएका छन् । नेता नेपालले तत्काल आफूहरू अब कांग्रेस नेतृत्वको सरकारमा सहभागी नबन्ने बताउँदै देउवालाई फराकिलो मन बनाएर अघि बढ्न सुझाव दिएका हुन् ।
‘अहिलेसम्म लोकतन्त्र र संविधानको रक्षाका लागि मैले साथ दिएँ । तर, अहिले परिस्थिति फेरिएको छ । मेरो पार्टीमा एकताको प्रक्रिया अघि बढिरहेको छ । अब सरकारमा सहभागी हुने, नहुने कुरा पार्टीले गर्ने संस्थागत निर्णयका आधारमा अघि बढ्छौँ’, नेता नेपालको भनाई उदृत गर्दै नेपाल पक्षीय नेता रघुजी पन्तले जानकारी दिए ।




प्रतिक्रिया