काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र आन्तरिक एकताका लागि आफूहरु सधैं तयार रहेको बताएका छन् ।
पार्टीको आफू निकट जनसङ्गठनका पदाधिकारीलाई आज भर्चुअल सम्बोधन गर्दै नेता नेपालले नयाँ पार्टी खुलेको स्थितिमा पनि एमाले एकताका लागि प्रयास जारी रहने बताए । ‘अहिले नयाँ दल दर्ता गरे पनि एकताको ढोका खुला रहनेछ । हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा तालमेल गरेर जान सकिन्छ,’ उनले भने ।
उनले अध्यक्ष केपी शर्मा ओलीले नै एकताको ढोका बन्द गरेको भन्दै यसबीचमा गरेका कतिपय ‘गलत र एकपक्षीय’ निर्णय फिर्ता लिएमा एकता सम्भव हुने अन्यथा नयाँ पार्टीमार्फत वामपन्थी आन्दोलनको झण्डालाई फहराइने स्पष्ट पारे ।
नेता नेपालले सही कार्यदिशामा आउन तयार भएमा अहिले एकता सम्भव नभए निर्वाचनमा तालमेल वा निर्वाचनपछि पनि सहकार्य र एकताको सम्भावना सधँै रहने बताए । उनले आफ्ना कार्यकर्तालाई एमालेको सदस्यता नवीकरण र समानान्तर गतिविधिमा सक्रिय हुन पनि आग्रह गरे ।
आजै आफूले उपमहासचिव घनश्याम भुसालको प्रस्तावमा एकताका लागि विकल्पबारे छलफल गर्न अध्यक्ष ओली पक्षसँग पठाएको जानकारी दिँदै त्यसको प्रगति भइनसकेको बताए । उनले पार्टीले आफूसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई पदमुक्त गर्न सङ्घीय संसद् सचिवालयमा सिफारिस गरेको सुनिएकोमा विरोध गरे ।




प्रतिक्रिया