काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
मंगलबार दिउँसो साढे २ घण्टा भएको भेटवार्तामा पार्टीका पछिल्ला गतिविधि र सरकारका कामकारबाहीबारे छलफल भएको थियो । भेटका क्रममा नेता नेपालले सरकारले गरेका निर्णयबारे असन्तुष्टी जनाएका थिए । उनले प्रधानमन्त्री ओलीका एकलौटी निर्णयबारे असन्तुष्टी पोखेका हुन् ।
त्यस्तै प्रधानमन्त्री अोलीले पनि नेता नेपाल अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिकिएको विषयमा निको मानेनन् । उनले नेता नेपालसामू सरकार र आफ्नो पक्षमा सहयोग नगरेको भन्दै गुनासो पोखे । प्रधानमन्त्रीले ‘आज भोली त अन्त जान थाल्नुभयो त’ भन्दै अध्यक्ष प्रचण्डसँग नजिकिएको प्रसंग जोडेका थिए ।
उनले नेता नेपाल आफूकहाँ आउजाउ गर्न छोडेपछि असन्तुष्टि जनाएका हुन् । नेता नेपालले अध्यक्ष प्रचण्डसँग मिलेर काउण्टर दिन थालेपछि प्रधानमन्त्रीको यस्तो भनाई बाहिर आएको छ ।
‘आज भोली त अन्तै जान थाल्नुभयो त । म सँग आउनै छोड्नुभयो’, नेता नेपाललाई प्रधानमन्त्रीले भने, ‘मिलेर अगाडि बढौं । किन मेराविरुद्धमा लाग्नुहुन्छ ?’
प्रधानमन्त्रीले यस्तो बताएपछि नेता नेपालले पनि सरकारका पछिल्ला काम कारबाहकिा विषयमा असन्तुष्टी जनाए । उनले सरकारले जनताको हितमा काम नगरेको भन्दै प्रधानमन्त्रीलाई सिस्टममा चल्न आग्रह गरे । उनले प्रधानमन्त्रीले मन्त्रिमण्डल पुर्नगठनमा गरेको एकलौटी निर्णयदेखि कोरोना संक्रमित नागरिकको उपचारमा गरेको विवादास्पद निर्णयबारेमा आक्रोश पोखेका थिए ।
‘मिल्ने कुरामा मेरो कुनै आपत्ति छैन, मिल्नुपर्छ । तर, कुन कुरामा मिल्ने ? विधि र प्रक्रियामा मिल्ने कुरा ठिक छ । व्यक्तिवादलाई मान्य हुनेगरी मिल्ने कुरा हुँदैन । पार्टीलाई विधि र प्रक्रिया अनुसार अगाडि बढाउने कुरामा मिल्न म तयार नै छु’, नेता नेपालले भने ।
नेता नेपालले सरकारले कोरोना भाइरसको महामारीले मुलुक आक्रान्त बनिरहेका बेला सरकारले नागरिकको उपचारमा शुल्क लिने विषयमा असन्तुष्टी जनाएका छन् । उनले मंगलबार दिउँसो विज्ञप्ति जारी गरेर सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफैं उपचार गर्नका लागि निर्देशिका जारी गरेको कुरा प्रति गम्भीर ध्यानआकर्षण भएको बताएका थिए ।
‘संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ । यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन’, उनले भनेका थिए, ‘त्यसमा पनि गरिबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गम्भीर विषय हो ।’




प्रतिक्रिया