नेकपा एसका नेताहरुले अनिवार्य रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने

नेकपा एसका नेताहरुले अनिवार्य रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने


काठमाण्डु – नेकपा एकीकृत समाजवादीको काठमाण्डु जिल्ला कमिटीले अनिवार्य सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियम बनाएको छ ।

नेकपा एसको केन्द्रीय कार्यालयको निर्देशनअनुसार काठमाण्डु जिल्ला कमिटी अध्यक्ष कुसुमकुमार कार्कीले कमिटीका सदस्यले माघ मसान्तभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

कार्कीले चलअचल सम्पत्तिदेखि बैंकमा रहेको रकम तथा सेयरदेखि सुनचाँदीका विवरण भरेपछि मात्र साधारण सदस्यता दिइने बताए ।

नेतृत्वको जीवन पारदर्शी होस् भन्ने उदेश्यका साथ जिल्ला कमिटी सदस्यहरूको आम्दानी विवरण सार्वजनिक गर्ने तयारी गरिएको नेकपा एसले जनाएको छ ।

‘बहुसंख्यक नेताहरूका जीवनशैली र आम्दानीको स्रोतका बीचमा तादम्यता नमिलेका कारण वा कतिपय नेताका आम्दानीका स्रोत र सम्पत्ति पारदर्शी नभएका कारण पनि कतिपय अवस्थामा सबै उस्तै–उस्तै हुन् भन्ने आम गुनासो रहेको पाइएको छ । तसर्थ, पार्टीका नेताहरूको जीवन पारदर्शी बनाउन सकेमा मात्र पनि आम नागरिकको विश्वास जित्न धेरै हदसम्म सकिने अवस्था छ,’ प्रस्तावमा भनिएको छ, ‘तसर्थ, यसको सुरुवात जिल्ला कमिटी काठमाडौंबाट गर्नु नै सबैभन्दा उपयुक्त हुने देखिएकोले सुरुवातमा सम्पत्ति विवरण लिने र आगामी दिनमा जिल्ला कमिटी काठमाडौंका सदस्यहरू बस्ने घर, व्यवसाय र आम्दानी विवरणसमेत सार्वजनिक गर्ने ।’

त्यस्तै, जिल्ला कमिटीका सदस्यहरूले ३५ दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ । ‘प्रत्येक आव समाप्त भएको मितिले ३५ दिनभित्र जिल्ला कमिटीका सदस्यहरूले जिल्ला पार्टी कार्यालयमा सम्पत्ति बुझाउनुपर्नेछ । यस आवको लागि आव मसान्तभित्र सम्पत्ति विवरण बुझाउनुपर्नेछ । सम्पत्ति विवरण अनुसूचीमा व्यव्स्था भएको फारम भरी बुझाउनुपर्नेछ,’ कार्ययोजनामा भनिएको छ ।

त्यस्तै, जिल्ला कमिटीका सदस्यहरू मध्येबाट प्रत्येक क्षेत्रमा दुईजना पूर्णकालीन सदस्यलाई खाजा, खाना, फोन रिचार्जबापत मासिक १० हजार रुपैयाँ प्रदान गर्ने पनि उल्लेख छ ।