काठमाण्डु – नेकपा एमाले विभाजनका लागि वरिष्ठ नेता झलनाथ खनालसहित ७ जना नेताले सनाखत गर्न नपाउने भएका छन् ।
पार्टी विभाजनका लागि माधव नेपालले एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५८ जनाको नाम निर्वाचन आयोगमा पेस गरेका थिए । जसमध्ये सात जनाले हस्ताक्षर गरेका छैनन् ।
निवेदनमा हस्ताक्षर नगर्नेमा झलनाथ खनाल, प्रदीप नेपाल, खगेन्द्र चुँडाल, रविन कोइराला, धर्मनाथप्रसाद साह, रत्नेश्वर गोइत र रविन्द्र बैठा रहेका छन् ।
यी नेताहरू दल विभाजनकै पक्षमा रहे पनि उनीहरूको हस्ताक्षर नभएकाले सनाखत गर्न नमिल्ने भएको हो । निर्वाचन आयोगका सचिव सुरेश अधिकारीले दल दर्ताको निवेदनमा हस्ताक्षर भएकाहरुले मात्र बुधवार सनाखत गर्न पाउने बताए ।
यसअघि झलनाथ खनालले दिल्लीबाटै मन्जुरीनामा पठाउने र प्रदीप नेपाललगायतका नेताले आयोगमा गएर हस्ताक्षर गर्ने भनिएको थियो । तर अब साविक एमालेको २०३ सदस्यीय कमिटीका ५१ जनाकोमात्र सनाखत हुनेछ ।
दल विभाजनका लागि ४१ जना सदस्य भए माधव नेपाललाई पुग्छ । यद्यपी एमालेले नेपालसहित ९ जना केन्द्रीय सदस्य तथा १४ जना सांसदलाई दल दर्ताको निवेदन दिनुअघि नै निष्कासन गरिएको भन्दै उनीहरूको हस्ताक्षर मान्यता नदिन आयोगलाई आग्रह गरेको छ ।




प्रतिक्रिया