प्रचण्ड–नेपाल समूहद्वारा आन्दोलनका कार्यक्रम घोषणा

प्रचण्ड–नेपाल समूहद्वारा आन्दोलनका कार्यक्रम घोषणा


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

शनिबार पत्रकार सम्मेलन गरी प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले पुस २० देखि माघ २३ गतेसम्मको आन्दोलन घोषणा गरेको हो ।

पुस २१ गते संघीय राजधानी र देशका विभिन्न शहरहरुमा राजनीतिक पार्टीहरुसँग प्रधानमन्त्री केपी ओलीको कदमको विषयमा अन्तर्क्रिया कार्यक्रम गरिनेछ ।

यस्तै २३ गते नागरिक समाजसँग अन्तरक्रिया गरिनेछ भने २४ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाइनेछ ।

यस्तै पुस २६ गते सडक संविधान बाचन–ब्याख्या कार्यक्रम गरिनुका साथै पुस २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँ तथा टोलसम्म कालोझण्डा गाड्नेलगायतका विरोधका कार्यक्रम राखिएको छ ।

यसैगरी पुस २९ गते निर्वाचनस्तरीय भेला, ३० गते सबै वडाहरुमा विरोध प्रदर्शन, माघ ५ गते पालिकाहरुमा विरोध प्रदर्शन र १० गते काठमाण्डु उपत्यकालगायत देशभरका सहरी क्षेत्रमा मोटरसाइकल र्याली निकालिने छ ।  यस्तै माघ १६ र १७ गते सबै प्रदेशमा विरोध सभा राखिएको छ भने २२ गते देशव्यापी मसालजुलुस गरिनेछ ।

पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा पार्टी भेला, संघर्ष सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ । आन्दोलनका माघ २३ गतेसम्म जारी छ । २३ गते काठमाण्डुमा विरोध प्रर्दशन र सभा गर्ने बताइएको छ ।